कृष्णभीरमा डाइभर्सन निर्माण सुरु, अत्यावश्यक सवारी खुलाउने तयारी



धादिङ, भदौ २० । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित जोखिमयुक्त कृष्णभीरमा सडक डाइभर्सन निर्माण सुरु गरिएको छ। भोटेकोशी बाढीका कारण कृष्णभीर भासिएर राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्ग निर्माणका लागि शुक्रबारदेखि डाइभर्सनको काम थालिएको हो।

पहिरो गएको स्थानभन्दा केही माथिबाट भित्ता काटेर नयाँ ट्रयाक खोल्न सुरु गरिएको छ। डाइभर्सन निर्माणका लागि बिहीबारदेखि झाडी तथा वनस्पति हटाउने र रुख काट्ने काम गरिएको मलेखु–मुग्लिन सडक आयोजना प्रमुख सजना अधिकारीले बताइन्।

उनका अनुसार भित्तामा भेटिने चट्टानको अवस्थाले निर्माणको गति निर्धारण गर्नेछ। सकेसम्म छिटो वैकल्पिक मार्ग सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनले बताइन्।

धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)का अनुसार पहिलो प्राथमिकता एम्बुलेन्स, दमकललगायत अत्यावश्यक सवारीसाधन सञ्चालन गर्ने रहेको छ। त्यसपछि क्रमशः साना तथा मालवाहक सवारीसाधन सञ्चालन गर्ने तयारी छ।

त्रिशूली नदीमा आएको बाढीका कारण सडकको तल्लो भागबाट पहिरो खसेपछि पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौं खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो। राजमार्ग अवरुद्ध हुँदा काठमाडौं, चितवन र पोखरातर्फको आवागमन प्रभावित भएको छ।

सडक विभागले प्राविधिक तथा भौगर्भिक विज्ञको टोली परिचालन गरी १५ दिनभित्र राजमार्ग सञ्चालनमा ल्याउने तयारी गरेको छ। प्राविधिकहरूका अनुसार अवस्था अनुकूल रहेमा एक सातादेखि १० दिनभित्र डाइभर्सन निर्माण पूरा गरेर सडक सञ्चालन गर्न सकिने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्