पहिरोले कर्णाली करिडोर अवरुद्ध, सडक खुलाउन जेसिबी परिचालन
बाजुरा,भदौ २० — गएरातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली करिडोर सडकखण्ड अवरुद्ध भएको छ । बाजुराको जगन्नाथ गाउँपालिका–५ स्थित भुकाह खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार हिमाली गाउँपालिका–७ बाधु र जगन्नाथ गाउँपालिका–५ मा माथिबाट आएको पहिरोले सडक अवरुद्ध गरेको थियो। बाधुमा खसेको पहिरो पिएस कन्स्ट्रक्सनको जेसिबी प्रयोग गरी हटाएर सडक सञ्चालनमा ल्याइएको छ।
भुकाह खोलामा खसेको पहिरोका कारण भने सडक अझै अवरुद्ध छ। अवरोध हटाउन प्रहरीचौकी जुड्डीबाट प्रहरी सहायक निरीक्षक रमेश रावलको कमाण्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटाइएको छ।
सडक अवरुद्ध हुँदा गन्तव्यतर्फ जाने सवारीसाधन बाटोमै रोकिएका छन्। अहिले जगन्नाथ गाउँपालिकाको जेसिबी प्रयोग गरी पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
लगातारको वर्षाका कारण कर्णाली करिडोरका विभिन्न स्थानमा पहिरोको जोखिम बढेकाले यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।

