भोटेकोशी बाढीको ११औँ दिनमा घरभित्रै बेहोस अवस्थामा भेटिइन् ६४ वर्षीया महिला
नुवाकोट,भदौ २० — रसुवामा आएको विनाशकारी भोटेकोशी बाढीको ११औँ दिनमा नुवाकोटको बेत्रावती बजारबाट एक ६४ वर्षीया महिलाको जीवितै उद्धार गरिएको छ।
विदुर नगरपालिका–१० की चन्द्रिका श्रेष्ठलाई सशस्त्र प्रहरी निरीक्षक सुमन विकेको नेतृत्वमा खटिएको टोलीले घरभित्रबाट जीवितै उद्धार गरेको हो।
उद्धारका क्रममा श्रेष्ठ बेहोस अवस्थामा भेटिएकी थिइन्। उनलाई तत्काल हवाई माध्यमबाट त्रिशुलीस्थित नेपाली सेनाको मैथिली ब्यारेकमा लगेर प्रारम्भिक उपचार सुरु गरिएको छ।
श्रेष्ठको स्वास्थ्य अवस्था हेरेर थप उपचार आवश्यक परे काठमाडौं लगिने जनाइएको छ। भोटेकोशी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीनको खोजी जारी रहेका बेला ११औँ दिनमा घरभित्रबाट महिलाको जीवितै उद्धार भएको हो।

