बिनाशकारी बाढीपछि माथिल्लो त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
रसुवा,भदौ २० । भोटेकोशी र त्रिशूली नदीमा आएको बिनाशकारी बाढीका कारण प्रभावित २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ सुरुङबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ।
नेपाली सेना र दक्षिण कोरियाको विपद् उद्धार टोलीले आज दिउँसो १ः२० बजे अडिट–४ सुरुङबाट ती चिनियाँ नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ।
उद्धार गरिएका नागरिकलाई प्राथमिक उपचारपछि थप स्वास्थ्य उपचार तथा हेरचाहका लागि नुवाकोटको त्रिशूलीस्थित नेपाली सेनाको मैथिली ब्यारेकतर्फ ल्याइँदै छ।
आयोजनाका अन्य सुरुङ तथा क्षेत्रमा समेत कामदारहरू फसेको आशङ्कामा नेपाली सेना, अन्य सुरक्षा निकाय र विदेशी विशेषज्ञ टोलीले संयुक्त रूपमा खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएका छन्।

