भोटेकोशी बाढीले रसुवामा ठूलो क्षति, २८ सरकारी भवनसहित १ हजार ५०० घरमा असर



रसुवा,भदौ २०— भोटेकोशी बाढीले रसुवामा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्‍याएको छ। जिल्ला प्रशासन कार्यालयले यही १० गते आएको बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीबाट २८ सरकारी तथा सार्वजनिक भवन, आठ सामुदायिक र तीन निजी विद्यालय, १४ बैङ्क तथा वित्तीय संस्था, एक पेट्रोल पम्प र करिब एक हजार ५०० निजी घरमा क्षति पुगेको छ।

बाढीले जिल्लाका ४१ किलोमिटर सडक, छ पक्की पुल, आठ बेलिब्रिज र १० झोलुङ्गे पुल बगाएको छ। भोटेकोशी, त्रिशूली र लाङ्टाङ खोलामा निर्माण भएका आठ जलविद्युत् आयोजनामा समेत पूर्ण क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ।

क्षति पुगेका आयोजनामा १११ मेगावाटको रसुवागढी, १२० मेगावाटको भोटेकोशी, २० मेगावाटको चिलिमे, २० मेगावाटको लाङ्टाङ खोला, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, पाँच मेगावाटको मैलुङ खोला, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ र ३७ दशमलव तीन मेगावाटको त्रिशूली–३ ‘बी’ छन्।

खोज तथा उद्धार जारी

बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको खोज तथा उद्धार जारी छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन्। थप सहयोगका लागि दक्षिण कोरिया, भारत र चीनका विज्ञसमेत प्रभावित क्षेत्रमा परिचालन गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

हालसम्म बाढीमा परी रसुवाका एक हजार ३६५, अन्य जिल्लाका एक हजार १६० नागरिक र २६४ पर्यटक सम्पर्कविहीन भएका छन्। त्यस्तै बैङ्क तथा वित्तीय संस्थाका २६ कर्मचारी, ७९ सरकारी कर्मचारी, १३ सशस्त्र प्रहरी, २८ नेपाल प्रहरी र २७ नेपाली सेना सम्पर्कविहीन रहेको सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिनुभयो।

प्रभावित क्षेत्रका बासिन्दालाई खाद्यान्न आपूर्ति सहज बनाउन हेलिकप्टरमार्फत राहत सामग्री वितरण भइरहेको प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्