बाढी प्रभावित क्षेत्रमा फेरि भारी वर्षाको सम्भावना



काठमाडौं,भदौ २० । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार रातिदेखि सोमबार बिहानसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार शनिबार राति चार प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ । हाल देशभर सामान्यतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आइतबार हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

सोमबार पनि देशभर सामान्यतया बदली रहनेछ । हिमाली भूभागका केही स्थान र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।सो दिन पनि कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभाग, कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विशेषगरी शनिबार रातिदेखि सोमबार बिहानसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत आसपासका क्षेत्रमा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । बाढी प्रभावित यी जिल्लाका एक–दुई स्थानमा भारी वर्षासमेत हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्