बाढी प्रभावित ज्येष्ठ नागरिकलाई सुरक्षित बसोबासको व्यवस्था गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता



काठमाडौं,भदौ २० । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीबाट प्रभावित ज्येष्ठ नागरिकलाई सरकारले अलपत्र नछोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत सन्देश दिँदै प्रधानमन्त्री शाहले नुवाकोटको विदुर–१०, बेत्रावतीमा ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले जीवितै उद्धार गरेको घटनाले देशमा आशा जगाएको बताएका छन्। उनले खोज तथा उद्धार कार्य अझै पनि निरन्तर भइरहेको उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित क्षेत्रबाट चन्द्रिका श्रेष्ठकै उमेर समूह र त्यसभन्दा माथिका धेरै ज्येष्ठ नागरिकको उद्धार भइसकेको बताएका छन्। बाढीका कारण वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकसमेत विस्थापित हुनुपरेको उनको भनाइ छ।

उनका अनुसार नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको भवन बाढीबाट क्षतिग्रस्त भएपछि त्यहाँ रहेका सात जनालाई काठमाडौंको म्हैपीस्थित नेपाल सिनियर केयरमा र १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको छ। उनीहरूलाई ह्वीलचियर तथा वाकर उपलब्ध गराउनुका साथै स्वास्थ्य परीक्षण र मनोसामाजिक परामर्श सेवा पनि दिइरहेको उनले बताएका छन्।प्रधानमन्त्री शाहले अस्थायी बसाइलाई सकेसम्म छोटो बनाएर ज्येष्ठ नागरिकलाई छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘हजुरहरूले आफूलाई एक्लो नठान्नु होला, जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौँ। हजुरहरूसँग यो राज्य छ, यो सरकार छ,’ उनले भनेका छन्।

भोटेकोशी बाढीले धेरै नागरिकले आफन्त, घर, खेतबारी र पशुचौपाया गुमाउनुपरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले पीडित नागरिकको आक्रोश स्वाभाविक भएको बताएका छन्। पीडामा रहेका नागरिकमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिनेहरूप्रति सरकार निर्मम हुने चेतावनीसमेत उनले दिएका छन्।

प्रधानमन्त्री शाहले बाढीपछिको उद्धार तथा खोजीमा जोखिम मोलेर खटिरहेका सुरक्षाकर्मीप्रति कृतज्ञता व्यक्त गर्दै उनीहरूको आत्मबल बढाउनु सबैको कर्तव्य भएको बताएका छन्। उनले बाढीमा ज्यान गुमाएका ज्येष्ठ नागरिकसहित सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित नागरिकलाई सरकारमाथि भरोसा राख्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्