ढुंगे–त्रिशूली जोड्ने २५० मिटर लामो झोलुङ्गे पुल एक महिनाभित्र बन्ने
नुवाकोट,भदौ २१— भोटेकोशी हुँदै चीनबाट रसुवागढी नाका भएर त्रिशूली नदीमा आएको विनाशकारी बाढीले ढुंगे र त्रिशूली बजार जोड्ने पक्की पुललगायतका संरचना क्षणभरमै बगाएपछि त्यस क्षेत्रमा झोलुङ्गे पुल निर्माण सुरु गरिएको छ। निर्माण सुरु भएको एक महिनाभित्र पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
विदुर नगरपालिका–१ ढुंगेस्थित बुद्ध मन्दिरको तल्लो भागबाट नदीपारि त्रिशूली बजार जोड्ने गरी २५० मिटर लामो झोलुङ्गे पुल निर्माण थालिएको हो। पुल १ करोड २५ लाख रुपैयाँको लागतमा निर्माण गरिने जनाइएको छ।
नुवाकोटसँगै रसुवा, धादिङ र गोरखाका ५० हजारभन्दा बढी सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुग्ने भएपछि नेपाल निर्माण व्यवसायी महासंघले पूर्वाधार मन्त्रालयसँगको समन्वयमा पुल निर्माणलाई उच्च प्राथमिकता दिएको हो।
महासंघका अध्यक्ष निकोलस पाण्डेका अनुसार मन्त्रालयका प्राविधिक विज्ञसँगको परामर्शमा पुल निर्माण अघि बढाइएको हो। बाढीका कारण विच्छेद भएको सडक तथा पैदल सम्पर्क पुनःस्थापित गर्न पुल निर्माणलाई तीव्रता दिइएको उनले बताए।
पुल निर्माणपछि नुवाकोट जिल्ला अस्पतालसहित किस्पाङ र म्यागङ गाउँपालिका तथा विदुर नगरपालिका–३, ७, ८ र ९ का केही भूभागसँगको सम्पर्क पुनःस्थापित हुने अपेक्षा गरिएको छ। यसबाट हजारौँ सर्वसाधारणलाई आवतजावतमा सहजता पुग्नेछ।
महासंघ अध्यक्ष पाण्डे नेतृत्वको टोलीले बाढी प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षणसमेत गरेको छ। टोलीले देवीघाट, ढुंगे, गेर्खुटार र शुभघाटलगायत क्षेत्रमा पुगेर बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको अवस्थाबारे जानकारी लिएको थियो।
निरीक्षणका क्रममा टोलीले क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। टोलीमा महासंघका वरिष्ठ उपाध्यक्ष रामजी पन्त ‘मुकेश’, उपाध्यक्ष बालकृष्ण थापा, कार्यसमिति सदस्य देवराज पाण्डे र विशेष आमन्त्रित सदस्य ओपेन्द्रकुमार खड्कालगायत सहभागी थिए।
टोलीलाई विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, नेपाली सेनाका स्थानीय अधिकारी तथा सडक डिभिजन कार्यालयका प्रमुखले बाढीबाट नुवाकोटमा भएको क्षति र पुनर्निर्माणको अवस्थाबारे जानकारी गराएका थिए।
निर्माण व्यवसायी महासंघले विपद्पछिको पुनर्निर्माणमा दीर्घकालीन, गुणस्तरीय र सुरक्षित पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।

