बाढीले निलेको देवीघाट : पाँच सय घरमध्ये ९५ प्रतिशत खण्डहर, धार्मिक धरोहरसमेत बाँकी रहेन
नुवाकोट,भदौ २१— नुवाकोटमात्रै नभई देशकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित देवीघाट बजार विनाशकारी बाढीपछि खण्डहरमा परिणत भएको छ। भोटेकोशी हुँदै चीनबाट रसुवागढी नाका भएर त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले विदुर नगरपालिका–५ स्थित देवीघाट बजारका अधिकांश संरचना बगाएको हो।
त्रिशूली र तादी नदीको संगमस्थल देवीघाट वीरगन्ज–गल्छी–देवीघाट–विदुर–रसुवागढी सडकमार्गमा पर्ने महत्वपूर्ण व्यापारिक केन्द्र थियो। नुवाकोटको दक्षिणी भेगका बासिन्दाका लागि प्रमुख बजारका रूपमा रहेको देवीघाट अहिले बाढीको प्रलयपछि उजाड बनेको छ।
बाढीले बजारलाई कुचोले बढारेझैँ बढारेको छ। सयौँ घरको नामोनिसानसमेत छैन। बाँकी रहेका केही घर अस्थिपञ्जरजस्तै देखिन्छन्। ती घरमा बचेखुचेका सामान संकलन गर्न बाढीपीडितहरू दिनहुँ पुगिरहेका छन्।
विदुर नगरपालिका–५ का वडाध्यक्ष लीलानाथ न्यौपानेका अनुसार देवीघाटमा रहेका करिब पाँच सय घरमध्ये झण्डै ९५ प्रतिशत बाढीले नष्ट गरेको छ। केही घर मात्र मर्मत गरेर व्यापार व्यवसाय सञ्चालन गर्न सकिने अवस्थामा छन्।
बाढीले देवीघाटका धार्मिक तथा सांस्कृतिक धरोहरसमेत बाँकी राखेन। प्रसिद्ध जालपादेवी मन्दिर, कृष्ण मन्दिर, शिव मन्दिर र गणेश मन्दिर बगाएको तथा शिवधाममा समेत बाढी पसेर ठूलो क्षति पुगेको वडाध्यक्ष न्यौपानेले बताए।
उनका अनुसार उद्धार, राहत तथा पुनःस्थापनामा स्थानीय तह केन्द्रित भएकाले भौतिक क्षतिको पूर्ण विवरण संकलन हुन बाँकी छ। बाढीमा देवीघाट क्षेत्रमा दुई जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता छन्।
कहिल्यै चहलपहलले भरिने बजार अहिले भग्नावशेषमा परिणत भएको स्थानीय बाढीपीडित कृष्णबहादुर कोइरालाले बताए। उनका अनुसार धार्मिक तथा ऐतिहासिक महत्व बोकेको देवीघाटको पुनःस्थापनाका लागि तीनै तहका सरकारले तत्काल विशेष योजना ल्याउनुपर्ने आवश्यकता छ।
अर्का बाढीपीडित मीनकुमार केसीले तीन दशकको दुःख र मेहनतबाट जोडेको सम्पत्ति बाढीले आधा घण्टामै समाप्त पारेको बताए। धार्मिक पर्यटकीय गन्तव्यका रूपमा परिचित देवीघाटको अवस्था देख्दा स्थानीयहरू भावुक छन्।
स्थानीय दीपेन्द्र न्यौपानेले भने, “देवीघाट बजार अब हाम्रो जुनीमा उठ्न गाह्रो छ।” बाढीले बजारमात्र नभई यहाँको धार्मिक, सामाजिक र आर्थिक जीवन नै तहसनहस बनाएको उनको भनाइ छ।
यसैबीच, बाढीले त्रिशूली नदीमाथिको पक्की मोटरेबल पुल बगाएपछि मुख्य सडकमार्गमा बेलीब्रिज राख्ने काम सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार तादी खोलातर्फको मुख्य सडकमा केही दिनभित्र बेलीब्रिज सञ्चालनमा ल्याउने तयारी छ। नेपाली सेनाले बेलीब्रिजका लागि आवश्यक संरचना निर्माण गरिरहेको छ।
पुल बगेपछि नदी वारपार गर्न समस्या भएपछि देवीघाटमा अस्थायी रूपमा तुइनसमेत सञ्चालनमा ल्याइएको छ। विदुर नगरपालिका–५ का वडाध्यक्ष न्यौपानेका अनुसार शुक्रबार साँझ ५ बजेदेखि तुइन सञ्चालनमा ल्याइएको हो।
भदौ १० गते आएको विनाशकारी बाढीले देवीघाट बजारसहित आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो। त्रिशूली नदीमाथिका पक्की तथा झोलुङ्गे पुलसमेत बगेपछि विदुर नगरपालिका–३ र ५ का स्थानीयलाई नदी वारपार गर्न कठिनाइ हुँदै आएको छ।
पुल पुनर्निर्माण नभएसम्म तुइनबाटै नदी वारपार गर्नुपर्ने बाध्यता रहेकाले यसको सुरक्षित सञ्चालन र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने स्थानीयको माग छ।

