पहिरोले साँफे–मार्तडी सडक अवरुद्ध, सवारीसाधन बाटोमै रोकिए
बाजुरा,भदौ २१— अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खसेपछि बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ।
शनिबार रातिदेखि लगातार परेको वर्षाका कारण बडीमालिका नगरपालिका–९ स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड र सुवाकाँधलगायतका स्थानमा सडक माथिबाट पहिरो खसेपछि यातायात ठप्प भएको प्रहरीले जनाएको छ।
यस्तै, बडीमालिका नगरपालिका–८ को राप्का र वडा नम्बर ६ को जडाङ्गालगायतका स्थानमा समेत पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिनुभयो।
सडक अवरुद्ध भएपछि प्रहरी सहायक निरीक्षक लक्ष्मी दत्त भट्टको कमाण्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा खटाइएको छ।टोलीले बडीमालिका नगरपालिका र सडक विभागको जेसीबी प्रयोग गरी पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो।
पहिरोका कारण साँफे–मार्तडी सडकखण्डमा आवतजावत प्रभावित भएको छ। गन्तव्यतर्फ हिँडेका सवारीसाधन बाटोमै रोकिएका छन् भने यात्रुहरूलाई समेत समस्या भएको छ।

