नुवाकोटको रातमाटेमा विशेषज्ञ स्वास्थ्य शिविर, ३७४ जनाले पाए निःशुल्क सेवा
नुवाकोट,भदौ २१ । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित रातमाटे स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सकसहितको बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
टिपिओ नेपाल तथा वीर अस्पतालको सहयोगमा शनिबार सञ्चालन गरिएको शिविरमा मुटुरोग, मानसिक रोग, जनरल मेडिसिन, जनरल सर्जरी तथा हाडजोर्नी रोगका विशेषज्ञ चिकित्सकले स्थानीय नागरिकको स्वास्थ्य परीक्षण तथा परामर्श दिएका थिए।
शिविरबाट ३७४ जना नागरिकले स्वास्थ्य परीक्षण तथा विशेषज्ञ चिकित्सकीय परामर्श लिएका छन्। उनीहरूलाई सुगर, प्रेसरलगायतका स्वास्थ्य समस्याका लागि आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराइएको आयोजकले जनाएको छ।
स्थानीय नागरिकलाई गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरबाट सर्वसाधारण लाभान्वित भएका छन्। कार्यक्रम सफल बनाउन सहयोग तथा सहजीकरण गर्ने टिपिओ नेपाल, वीर अस्पताल, नगर प्रमुख, नगर उपप्रमुख, वडा जनप्रतिनिधि, स्वास्थ्य शाखा, रातमाटे स्वास्थ्य चौकी तथा स्वास्थ्यकर्मीप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।
आगामी दिनमा पनि यस्ता जनमुखी स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिँदै नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

