मनसुन अझै सक्रिय रहने, देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना
काठमाडौं,भदौ २१ । नेपालमा मनसुनी वायुको प्रभाव आगामी केही दिन थप सक्रिय रहने भएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले विशेषगरी नेपालको पश्चिमी भूभागमा यसको प्रभाव अझ बलियो रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्ला केही दिनदेखि दिउँसो र अपराह्नपछि वर्षा सक्रिय हुने क्रम दोहोरिएकाले आगामी दिनमा पनि यस्तै अवस्था रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।
वरिष्ठ मौसमविद् मिनकुमार अर्यालका अनुसार पछिल्लो छ घण्टामा सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा भएको छ। तराई क्षेत्रको हनुमाननगर केन्द्रमा १०१ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ। पछिल्लो २४ घण्टामा सो क्षेत्रमा ११३ दशमलव ४ मिलिमिटर वर्षा भएको छ।
यस्तै, आसपासका अर्को क्षेत्रमा १२९ मिलिमिटर तथा लुम्बिनीको राङ्घाई केन्द्रमा ८२ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ। गण्डकी तथा बागमती प्रदेशका केही पहाडी भूभागमा पनि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।
आगामी तीन दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात, उद्धार र राहत कार्यसमेत प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी पूर्वसूचनालाई प्राथमिकता दिन आग्रह गरिएको छ।
महाशाखाले आवश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्नैपरे मौसमको अवस्था बुझेर मात्र अघि बढ्न समेत सुझाव दिएको छ।

