केरुङमा हिमपहिरोपछि बनेको अस्थायी तालको पानी बग्यो, जोखिम घट्यो
रसुवा,भदौ २१ — चीनको सिजाङ (तिब्बत) स्वायत्त प्रदेशअन्तर्गत चिलोङ (केरुङ) क्षेत्रमा हिमपहिरोपछि बनेको अस्थायी तालको पानी सबै बगेपछि त्यसबाट उत्पन्न जोखिम धेरै हदसम्म हटेको छ।
नेपालको रसुवागढी नजिकै चिनियाँ क्षेत्रमा खसेको हिमपहिरोका कारण बनेको अस्थायी तालको पानी पूर्ण रूपमा बगेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
सिन्ह्वाका अनुसार केरुङनजिक सुख्खा बन्दरगाहको मुख्य क्षेत्रमा रहेको अस्थायी तालको पानी सबै बगिसकेको छ। अहिले नदीको बहावसमेत सामान्य अवस्थामा फर्किएको र त्यससँग सम्बन्धित जोखिम धेरै हदसम्म हटेको क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ।
यससँगै अस्थायी ताल फुटेर नेपालतर्फ थप ठूलो बाढी आउन सक्ने जोखिम तत्कालका लागि कम भएको बताइएको छ।

