भोटेकोशी बाढीपछि प्रहरीको चौतर्फी अभियान, ७ हजार ९१२ प्रहरी परिचालन



काठमाडौँ, भदौ २१ — भोटेकोशी बाढीबाट सिर्जित चुनौती सामना गर्न नेपाल प्रहरीले सीमित साधनस्रोतका बाबजुद खोज, उद्धार, शव व्यवस्थापन, सुरक्षा तथा राहत सहजीकरणलाई तीव्रता दिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार विपद् व्यवस्थापनका लागि हालसम्म ७ हजार ९१२ प्रहरी परिचालन भएका छन्। बाढी प्रभावित क्षेत्रबाट ६ हजार ८५३ जनाको उद्धार गरिएको छ भने ५ हजार १५ जना अझै बेपत्ता छन्।

प्रहरीले सम्पर्कविहीन व्यक्तिको खोजीका लागि केन्द्रीय स्तरमा चौबिसै घण्टा सञ्चालन हुने विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र स्थापना गरेको छ। हालसम्म केन्द्रमा आफन्तको खोज तथा उद्धारका लागि १ हजार ३५१ पटक अनुरोध प्राप्त भएको प्रहरीले जनाएको छ।

खोज तथा उद्धारमा तालिम प्राप्त कुकुर र ड्रोन क्यामेराको प्रयोग भइरहेको छ। ड्रोनको सहायताले केही दिनअघि नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित एउटै घरबाट २४ वटा शव फेला पारिएको प्रहरीले जनाएको छ।

पहिचान हुन नसकेका शव तथा मानव अङ्गको व्यवस्थापन फोरेन्सिक विशेषज्ञको सहयोगमा वैज्ञानिक विधिबाट भइरहेको छ। बेपत्ता नेपाली तथा विदेशी नागरिकका परिवारलाई पहिचानमा सहज बनाउन महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा डिएनए प्रोफाइलिङको कामसमेत भइरहेको छ।

विदेशी नागरिकको खोजी तथा सूचना आदानप्रदानका लागि प्रहरी प्रधान कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिसिङ हेल्प डेस्क सञ्चालन गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा चोरी, लुटपाट, ठगी तथा अन्य आपराधिक गतिविधि हुन नदिन प्रहरीले गस्ती र निगरानी बढाएको छ। राहत सङ्कलनका नाममा हुनसक्ने ठगी तथा सामाजिक सञ्जालमा फैलिने गलत सूचना, अफवाह र भ्रामक सामग्रीमाथि समेत निगरानी भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, घाइतेको उपचारका लागि नेपाल प्रहरी अस्पतालबाट विशेषज्ञ चिकित्सक टोली परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा प्रहरीले हालसम्म ९२ वटा सामुदायिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ, जसमा ४१ हजार २५७ जना सहभागी भएका छन्।

रसुवा, नुवाकोट र धादिङका होल्डिङ सेन्टरमा महिला तथा बालबालिकाविरुद्ध हुनसक्ने हिंसा तथा दुर्व्यवहार रोक्न महिला प्रहरी परिचालन गरिएको छ। उनीहरूले समस्या तथा गुनासो सम्बोधनसँगै आवश्यक मनोपरामर्शसमेत दिइरहेका छन्।

बाढीले क्षतिग्रस्त विद्यालय, स्वास्थ्य चौकी, अस्पताल तथा विस्थापितका घरमा सरसफाइ र मर्मतसम्भारमा समेत प्रहरी टोली खटिएको छ। अवरुद्ध सडक र वैकल्पिक मार्गबारे सूचना प्रवाह गरी यात्रुलाई सहजीकरण गर्ने काम पनि भइरहेको छ।

प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता अविनारायण काफ्लेका अनुसार बाढीका कारण नेपाल प्रहरी स्वयंले पनि मानवीय क्षति व्यहोरेको छ। नागरिकको जीउधन सुरक्षामा खटिएका २५ जना प्रहरी अझै सम्पर्कविहीन रहेको उहाँले बताउनुभयो।

काफ्लेले खोज तथा उद्धार, बेपत्ताको खोजी, शव व्यवस्थापन, राहत वितरण, आपराधिक गतिविधि नियन्त्रण र विस्थापितको सुरक्षालगायतका चुनौतीबीच नेपाल प्रहरी नागरिकको सेवामा निरन्तर खटिइरहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्