भोटेकोशी बाढीपछि नेपाललाई थप सहयोग गर्ने कोरियाको प्रतिबद्धता
काठमाडौँ,भदौ २१ । परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्य र नेपाल–कोरिया द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ ।
परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका कोरियाली नागरिकको खोज तथा उद्धारका विषयमा पनि गम्भीर छलफल भएको मन्त्रालयले जनाएको छ ।
सो अवसरमा मन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि द्रुत प्रतिकार्य टोली र विपद् राहत टोली पठाएको तथा मानवीय सहायता र राहत सामग्री उपलब्ध गराएकोमा कोरिया सरकारप्रति आभार व्यक्त गर्नुभयो ।
मन्त्री खनालले विपद्पछिको पुनर्निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरण गर्ने गरी सुरक्षित र दिगो पूर्वाधार निर्माण गरिने उल्लेख गर्नुभयो । ‘बिल्ड ब्याक बेटर’ अवधारणाअनुसार पुनर्निर्माण अघि बढाइने भन्दै उहाँले यसमा कोरियाबाट निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।
कोरियाली परराष्ट्रमन्त्री ह्युनले नेपालमा विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाका प्रयासमा आवश्यक सहयोग गर्न आफ्नो सरकार इच्छुक रहेको बताउनुभयो । जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोगिरहेको जनधन तथा पूर्वाधारको क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायको ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै उहाँले जलवायुजन्य विपद्का विषयमा नेपाल र कोरियाले अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
कोप सम्मेलनलगायत अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनबाट नेपालजस्ता मुलुकले भोगिरहेका चुनौती र क्षतिका विषयमा संयुक्त रूपमा आवाज उठाउनुपर्ने धारणा राख्दै मन्त्री ह्युनले जलवायुजन्य क्षतिका लागि नेपालले पाउनुपर्ने अन्तर्राष्ट्रिय वित्तीय सहयोगका विषयमा कोरियाले आफ्नोतर्फबाट आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो ।
भेटवार्तामा दुवै मन्त्रीले नेपाल र कोरियाबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास र सहकार्यलाई थप सुदृढ गर्दै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल र कोरियाबीच श्रम, विकास साझेदारी, व्यापार, लगानी, प्रविधि तथा जनस्तरको सम्बन्धलगायत विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको छ । पछिल्लो विपद्का क्रममा कोरियाबाट प्राप्त खोज तथा उद्धार सहयोग, मानवीय सहायता र राहत सामग्रीले दुई देशबीचको मित्रता र ऐक्यबद्धतालाई थप मजबुत बनाएको मन्त्रालयले जनाएको छ ।

