भोटेकोशी बाढीमा १३ हजारभन्दा बढीको उद्धार, सुरक्षाकर्मीको साहसको प्रधानमन्त्री शाहद्वारा प्रशंसा



काठमाडौँ, भदौ २१ । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी–त्रिशूली बाढीपछि खोज, उद्धार तथा राहत कार्यमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूको उच्च प्रशंसा गरेका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत विपद्का बेला सुरक्षाकर्मीहरूले देखाएको त्याग, निष्ठा र अदम्य साहसका कारण लाखौँ मानिसले सुरक्षित महसुस गर्न पाएको बताएका हुन्।

उनले नुवाकोटको विदुर नगरपालिका–६, खम्पा क्याम्पस्थित केन्द्रीय कारागारमा बाढी पस्दा ५२ जना सुरक्षाकर्मीले ९२३ कैदीबन्दीलाई सुरक्षित स्थानमा सारेको घटना उदाहरणका रूपमा प्रस्तुत गरेका छन्। बाढीले कारागारको प्रशासनिक भवन, सुरक्षा हाइपोष्ट, पर्खाल तथा कैदीबन्दी राखिएको भवनमा क्षति पुर्‍याए पनि सुरक्षाकर्मीहरूले धैर्य नगुमाएको उनले उल्लेख गरेका छन्।

बाढीको मौका छोपेर पर्खाल र गेट तोडी करिब १०० मिटरसम्म भागेका ५० जना कैदीबन्दीलाई समेत सुरक्षाकर्मीहरूले पुनः नियन्त्रणमा लिएको प्रधानमन्त्री शाहले बताएका छन्। सो क्रममा केही सुरक्षाकर्मी घाइते भएको र वरपरका स्थानीय बासिन्दाको समेत ज्यान जोगाएको उनको भनाइ छ।

प्रधानमन्त्रीका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३ सय ९१ जनाको उद्धार गरिएको छ। स्थलमार्ग, हेलिकप्टर तथा आवश्यकताअनुसार आफ्नै काँधमा बोकेर समेत घाइतेलाई अस्पताल पुर्‍याउने काम भइरहेको उनले बताएका छन्।

शव व्यवस्थापन, महामारी तथा संक्रामक रोगको जोखिम न्यूनीकरण र राहत शिविरमा प्रभावितलाई मनोबल प्रदान गर्न सुरक्षाकर्मी अहोरात्र खटिरहेको शाहले उल्लेख गरेका छन्। उनले बाढीका कारण ४५ नेपाली सेना, २५ नेपाल प्रहरी र १२ सशस्त्र प्रहरी अझै सम्पर्कविहीन रहेको बताएका छन्। आफ्ना साथी गुमाएको पीडाका बाबजुद सुरक्षाकर्मीहरू खोज तथा उद्धारमा निरन्तर खटिरहेको भन्दै प्रधानमन्त्री शाहले उनीहरूको योगदानप्रति सरकार कृतज्ञ रहेको बताएका छन्।

प्रधानमन्त्रीका अनुसार हाल बाढी प्रभावित क्षेत्रमा ९ हजार २ सय ८७ नेपाली सेना, ७ हजार ९ सय ७५ नेपाल प्रहरी र ४ हजार २ सय ३ सशस्त्र प्रहरी परिचालित छन्। नेपाली सेनाले नुवाकोटको त्रिशूली–बट्टारस्थित मैथिल ब्यारेकमा उपरथीको नेतृत्वमा अग्रमोर्चा मुख्यालय, आकस्मिक स्वास्थ्य उद्धार टोली र अग्रमोर्चा हवाई आधार स्थापना गरी उद्धार गरिरहेको छ। रसुवाको धुन्चेमा पनि सहायक रथीको नेतृत्वमा विशेष कमाण्ड तथा स्वास्थ्य टोली परिचालन गरिएको शाहले बताएका छन्। सेनाले बेलीब्रिज निर्माण तथा सडक खुलाउने कामसमेत अघि बढाएको छ।

नेपाल प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा खोज तथा उद्धार, घाइतेलाई अस्पताल पुर्‍याउने, शव व्यवस्थापन, नागरिकलाई जोखिमबारे सूचना प्रवाह तथा प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने काम गरिरहेको प्रधानमन्त्रीको भनाइ छ।

त्यस्तै, सशस्त्र प्रहरी बलले गोताखोर, डोरी टोली, ड्रोन तथा केनाइन टोली परिचालन गरी कठिन भूगोलमा खोज तथा उद्धार गरिरहेको जनाएको छ। प्रभावित क्षेत्रमा विपद् प्रतिकार्य पोष्ट, फिल्ड कमाण्ड पोष्ट र १३ वटा विपद् प्रतिकार्य बेस स्थापना गरिएको शाहले उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले संकटका बेला सुरक्षाकर्मीलाई खटिन प्रेरित गर्ने उनीहरूका परिवारप्रति समेत कृतज्ञता व्यक्त गरेका छन् ।कार्यक्षेत्रमा खटिने प्रत्येक सुरक्षाकर्मीको योगदानको उच्च कदर हुने र उनीहरूको सेवा, सुरक्षा तथा सुविधामा सरकारले सम्झौता नगर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्