भोटेकोशी बाढी : १ हजार ३ सय ५१ शव फेला, ३ हजार ९ सय ९२ अझै बेपत्ता



काठमाडौँ, भदौ २२ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण गएराति ८ बजेसम्म १ हजार ३ सय ५१ जनाको शव फेला परेको छ।

नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा १ सय ६९, नुवाकोटमा १ सय ९६, धादिङमा ६९, चितवनमा ३ सय ६२, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय २२ र नवलपरासी पश्चिममा २ सय २१ जनाको शव रहेका छन्। फेला परेका शवको पहिचानका लागि मृतक र आफन्तको डिएनए नमुना सङ्कलन गरी आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। हालसम्म १ हजार ४४ वटा शव व्यवस्थापन गरिएको छ।

शव पहिचानका लागि मृतकका १ हजार १ सय ८१ र आफन्तका १ हजार १ सय ९५ गरी कुल २ हजार ३ सय ७६ वटा डिएनए नमुना सङ्कलन गरिएको छ। पहिचान हुन नसकेका १ हजार २ सय ९० शवको विवरणसमेत नेपाल प्रहरीको वेबसाइटमा सार्वजनिक गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय १२ प्रहरी कर्मचारी परिचालन गरिएको प्रहरीले जनाएको छ। यस्तै, बाढीपछि हालसम्म ३ हजार ९ सय ९२ जना बेपत्ता रहेको र उनीहरूको खोजी कार्य जारी रहेको छ। विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा ३ हजार १ सय ९० जनालाई राखिएको प्रहरीले जनाएको छ।

प्रहरीले बाढीको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै विभिन्न निकाय तथा स्थानीयवासीसँगको समन्वयमा उद्धार र खोजी कार्यलाई निरन्तरता दिइरहेको छ। बाढी तथा पहिरोका कारण अवरुद्ध भएका विभिन्न सडक खुलाउने कामसमेत भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्