बाढीपछि नुवाकोटमा डीएनए नमूना संकलन केन्द्र र अस्थायी फिल्ड अस्पताल सञ्चालन
नुवाकोट,भदौ २२ । चीनबाट रसुवागढी नाका हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट नुवाकोटमा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि विदुरमा डीएनए नमूना संकलन केन्द्र र अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याइएको छ ।
बाढीमा फेला परेका शवको पहिचान तथा बेपत्ता व्यक्तिको खोजीमा सहयोग पुर्याउने उद्देश्यले नेपाल प्रहरीले विदुरमा डीएनए परीक्षणका लागि नमूना संकलन केन्द्र सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक इकवाल हवारीका अनुसार बाढीपछि बेपत्ता भएका व्यक्तिको पहिचानका लागि उनीहरूका नजिकका जैविक आफन्तबाट नमूना संकलन सुरु गरिएको छ । संकलित नमूनाका आधारमा फेला परेका शवको पहिचान गर्न सहज हुने प्रहरीले जनाएको छ ।
यसैबीच, बाढी प्रभावित नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन विदुरमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जको पाँच शैयाको अस्थायी फिल्ड अस्पतालसमेत सञ्चालनमा ल्याइएको छ ।
बाढीपछि उत्पन्न हुनसक्ने स्वास्थ्य समस्या तथा प्रभावित नागरिकको उपचार आवश्यकतालाई ध्यानमा राखेर सञ्चालन गरिएको फिल्ड अस्पतालबाट विशेषज्ञ चिकित्सकसहित बहिरंग तथा वार्ड सेवा, औषधि र प्रयोगशालालगायतका स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार, शव पहिचान तथा स्वास्थ्य उपचारलाई एकसाथ अघि बढाउन प्रहरी र स्वास्थ्यकर्मी परिचालन भएका छन्।

