बाढीले ध्वस्त नुवाकोटका बजारमा पीडितभन्दा ‘दर्शक’को भीड



नुवाकोट,भदौ २२ । चीनबाट रसुवागढी नाका हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोटका प्रमुख बजारलाई तहसनहस बनाएको छ । भदौ १० गते बुधबार बिहान करिब १० बजे आएको विनाशकारी बाढीले ढुंगे, त्रिशूली, देवीघाट र वेत्रावती बजारलाई बगरमा परिणत गरिदिएको छ ।

बाढीले हजारौँ घर तथा संरचना बगाउँदा लाखौँ मानिस प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार आइतबार बेलुकीसम्म जिल्लामा २ हजार ६ सय ७३ जना बेपत्ता छन् । बाढीबाट १ सय ९६ जनाको शव फेला परेको छ भने ६६ जना घाइतेको उद्धार गरी उपचार गरिएको प्रशासकीय अधिकृत रुपेशप्रसाद नेपालले जानकारी दिए । उनका अनुसार हालसम्म ३ हजार ४ सय ११ जनाको उद्धार गरिएको छ ।

बेपत्ताको खोजी तथा उद्धारका लागि पाँच सयभन्दा बढी पटक हेलिकप्टर उडान भइसकेका छन् । सुरक्षा निकाय तथा विभिन्न उद्धार टोली प्रभावित क्षेत्रमा निरन्तर परिचालन भइरहेका छन् । तर, विपत्तिमा परेका नागरिकको उद्धार र पुनःस्थापनाको चिन्ता बढिरहेका बेला बाढी प्रभावित क्षेत्रमा पीडितभन्दा दर्शकको भीड बढी देखिन थालेको पीडितहरूले गुनासो गरेका छन् ।

ढुंगेका बाढीपीडित राजु शाक्यका अनुसार काठमाडौँबाट नजिक भएकाले बाढीले क्षति पुर्‍याएका स्थानमा दैनिक हजारौँ मानिस दृश्य हेर्न पुग्ने गरेका छन् । कतिपयले प्रभावित क्षेत्रमा पुगेर टिकटक बनाउने, तस्बिर खिच्ने तथा सामाजिक सञ्जालमा राख्ने गरेको उनले बताए ।

“बाढी प्रभावितलाई अहिले आश्रयस्थलबाट सुरक्षित रूपमा पुनःस्थापना गर्न जरुरी छ,” शाक्यले भने, “बालबालिकाले आफ्नै आँखाले बाढीको भयावह दृश्य देखेका छन् । उनीहरूको मानसिक स्वास्थ्य सुरक्षालाई पनि प्राथमिकतामा राख्नुपर्छ ।”

काठमाडौँबाट करिब दुई घण्टाको दूरीमा रहेका ढुंगे, त्रिशूली, देवीघाट, शुभघाटलगायतका प्रभावित क्षेत्रमा अहिले बाढीको अवस्था हेर्न पुग्नेको संख्या बढेको छ । विशेषगरी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तस्बिर तथा भिडियो खिच्ने र टिकटक बनाउनेहरूको भीड लाग्ने गरेको अर्का बाढीपीडित राजेन्द्र धमलाले बताए ।

बाढीले घर, व्यवसाय र सम्पत्ति गुमाएका पीडितहरू तत्काल सुरक्षित आवास, खाद्यान्न, स्वास्थ्य उपचार र पुनःस्थापनाको पर्खाइमा रहेका बेला प्रभावित क्षेत्रलाई दृश्यावलोकनको थलो नभई पीडितको पीडा र पुनःस्थापनाको क्षेत्रका रूपमा हेर्नुपर्ने स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्