बिपत्तिको १२ दिनपछि नुवाकोटमा ९७.५ प्रतिशत विद्युत् सेवा सुचारु



नुवाकोट,भदौ २२ । अकल्पनीय बाढीका कारण नुवाकोट र रसुवाका विद्युत् संरचनामा ठूलो क्षति पुगे पनि मर्मतसम्भारलाई तीव्रता दिइएपछि अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ ।

भदौ १० गते बुधबार आएको विनाशकारी बाढीका कारण नुवाकोट र रसुवा लामो समय अन्धकारमा परेका थिए । त्यसयता नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रले क्षतिग्रस्त संरचना मर्मत गर्दै १२ दिनको अवधिमा अधिकांश क्षेत्रमा विद्युत् सेवा सञ्चालनमा ल्याएको हो ।

नुवाकोटमा आइतबारसम्म ९७ दशमलव ५ प्रतिशत क्षेत्रमा विद्युत् सेवा सुचारु भइसकेको वितरण केन्द्र प्रमुख राजकुमार रमणले जानकारी दिए । उनका अनुसार विदुर नगरपालिका–१०, ११ र तारकेश्वर गाउँपालिका–४ मा भने विद्युत् लाइन मर्मतको काम जारी छ । ती क्षेत्रमा सोमबारसम्म विद्युत् सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको उनले बताए ।

बाढीबाट नुवाकोटसँगै छिमेकी जिल्ला रसुवाको विद्युत् संरचनामा समेत ठूलो क्षति पुगेको थियो । हालसम्म रसुवाका करिब ७५ प्रतिशत क्षेत्रमा विद्युतीकरण तथा विद्युत् सेवा पुनःस्थापना गरिएको जनाइएको छ ।

यसैबीच, पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सञ्चार कार्यदलले पनि बाढी प्रभावित नुवाकोटमा पुगेर सञ्चार तथा विद्युत् संरचनाको अवस्थाबारे स्थलगत अनुगमन गरेको छ । उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयका निर्देशक धर्मेन्द्रकुमार झाको संयोजकत्वमा रहेको क्षति मूल्याङ्कन टोलीले आइतबार प्रभावित क्षेत्रको अनुगमन गरेको हो ।

टोलीले दूरसञ्चार, सञ्चार तथा इन्टरनेट सेवा पुनःस्थापनाका लागि भइरहेको कामको अवस्थाबारे जानकारी लिएको छ । बाढीले पूर्ण रूपमा ध्वस्त पारेका स्थानबाहेक अन्य क्षेत्रमा इन्टरनेट, विद्युत् तथा मोबाइल सेवा सञ्चालनमा आइसकेको जानकारी टोलीले लिएको छ ।

सेवा पुनःस्थापनाका लागि आवश्यक उपकरण तथा सामग्री ढुवानी गर्न हेलिकप्टरसमेत प्रयोग गरिएको सञ्चार मन्त्रालयका उपसचिव तथा कार्यदल सदस्य रविन्द्रप्रसाद पौड्यालले जानकारी दिए ।उनका अनुसार कार्यदलमा पूर्वाधार विकास मन्त्रालय, सञ्चार मन्त्रालय, राष्ट्रिय योजना आयोग, सडक कार्यालय तथा नेपाल इन्जिनियर एसोसिएसनलगायतका प्रतिनिधि सहभागी छन् ।

टोलीले बाढीबाट क्षतिग्रस्त पूर्वाधारको अवस्थाको मूल्याङ्कन गर्दै अत्यावश्यक सेवा शीघ्र पुनःस्थापनाका लागि आवश्यक समन्वय गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्