भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १ हजार ३५५ पुग्यो, करिब ५ हजार अझै सम्पर्कविहीन
काठमाडौँ,भदौ २२। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३५५ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहान ११ बजे सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानबाट ती शव फेला परेका हुन्।
प्राधिकरणका अनुसार रसुवामा १६९, नुवाकोटमा १७७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ शव फेला परेका छन। फेला परेका शवमध्ये १८ जनाको अझै सनाखत हुन सकेको छैन।
बाढीपछि करिब ४ हजार ९९६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीनमध्ये रसुवाका करिब १ हजार ६७ र नुवाकोटका करिब २ हजार ३४० जना नेपाली नागरिक छन्। यस्तै, करिब १०० सुरक्षाकर्मी तथा कर्मचारी र ५८९ जना विदेशी नागरिक सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
हालसम्म १ हजार ३४८ जनाको उद्धार गरिएको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा रहेका ३२ वटा होल्डिङ सेन्टरमा ३ हजार ४३३ जना आश्रय लिएर बसेका छन्। घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने प्रभावितका लागि मनोसामाजिक परामर्श सेवासमेत सञ्चालन गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा हेलिकोप्टरमार्फत राहत तथा उद्धार कार्य जारी छ। विद्युत् आपूर्ति, सञ्चार तथा इन्धन व्यवस्थापनमा देखिएका समस्या समाधान गर्दै प्रभावित क्षेत्रको अवस्था सामान्य बनाउन प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले सम्पर्कविहीन व्यक्तिका आफन्तलाई उपलब्ध विवरणका आधारमा खोजी तथा पहिचान प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ। साथै, उद्धार तथा राहतसम्बन्धी आधिकारिक सूचनालाई मात्र आधार बनाउन आग्रह गरिएको छ।

