बाढी प्रभावित नुवाकोटमा राष्ट्रपति पौडेल, पीडितसँग सुने गुनासा



नुवाकोट,भदौ २२ । राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गर्नुभएको छ।

अवलोकनका क्रममा राष्ट्रपति पौडेलले बाढी प्रभावित तथा पीडित नागरिकसँग भेटघाट गरी उनीहरूका गुनासा र समस्याबारे जानकारी लिनुभएको छ। पीडितहरूले बाढीबाट भएको धनजनको क्षति, खोज तथा उद्धार, राहत र पुनर्स्थापनाका कामलाई थप प्रभावकारी बनाउन सरकार तथा सहयोगी निकायले तदारुकता देखाउनुपर्ने माग गरेका थिए।

राष्ट्रपति पौडेलले नुवाकोटमा भोटेकोशी बाढीले पुर्‍याएको क्षति तथा त्यसबाट सिर्जित अवस्थाबारे जिल्ला सुरक्षा समितिबाट जानकारी लिनुभयो। प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित सुरक्षा समितिका सदस्यहरूले बाढीबाट जिल्लामा भएको धनजनको क्षतिको विवरण प्रस्तुत गरेका थिए।

प्रमुख जिल्ला अधिकारी रेग्मीले बाढीपीडितको खोज तथा उद्धार, राहत वितरण, पुनर्स्थापना र तत्काल आवश्यक संरचना निर्माणका लागि भइरहेका कामबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराउनुभयो।

राष्ट्रपति पौडेलले नुवाकोटमा बाढी प्रभावित नागरिकलाई राखिएको होल्डिङ सेन्टरको समेत अवलोकन गर्नुभयो। त्यहाँ प्रभावित नागरिकहरूले अकल्पनीय बाढीबाट भएको क्षति र आफूहरूले भोग्नुपरेका समस्याबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए।

राष्ट्रपति पौडेलले सोमबार नै बाढी प्रभावित क्षेत्रअन्तर्गत नुवाकोटको त्रिशूलीमा रहेको नेपाली सेनाको शिविर तथा रसुवाका बाढी प्रभावित क्षेत्रको समेत स्थलगत अवलोकन गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्