विपद् प्रभावितले राज्यको उपस्थिति महसुस गर्ने गरी उद्धार र पुनःस्थापना गर्न सभामुख अर्यालको आग्रह



धादिङ,भदौ २२ । सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत र पुनःस्थापनाका काम प्रभावकारी रूपमा अघि बढाउन तीनै तहका सरकारलाई आग्रह गर्नुभएको छ।

धादिङको गल्छीस्थित भोटेकोशी बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि सभामुख अर्यालले विपद्का बेला नागरिकलाई राज्यको उपस्थिति अनुभूति गराउनु सरकारको पहिलो दायित्व भएको बताउनुभयो।

उहाँले बाढीबाट विस्थापित परिवारलाई यथाशीघ्र सुरक्षित बसोबासको व्यवस्था मिलाउन पुनःस्थापनाको काम तीव्र गतिमा अघि बढाउन सरकारसँग समन्वय भइरहेको जानकारी दिनुभयो।
राहत वितरणलाई न्यायोचित र व्यवस्थित बनाउन सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गर्दै एकद्वार प्रणाली कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। वास्तविक पीडितको पहिचान गरी सबै प्रभावित परिवारले समान रूपमा राहत पाउने व्यवस्था मिलाउनुपर्ने उहाँको भनाइ थियो।

सभामुख अर्यालले प्रभावित नागरिकलाई अनावश्यक प्रशासनिक झन्झट नदिई स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित निकाय आफैँ प्रभावित क्षेत्रमा पुग्नुपर्ने बताउनुभयो। उहाँले मानवीय तथा भौतिक क्षतिसँगै कृषि, व्यापार–व्यवसाय र जीविकोपार्जनमा पुगेको क्षतिको यथार्थ विवरण सङ्कलन गर्न पनि आग्रह गर्नुभयो।

जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा दीर्घकालीन पुनर्निर्माणका लागि भविष्यमा आउन सक्ने जोखिमलाई समेत ध्यानमा राखेर आवश्यक नीति र मापदण्ड बनाउनुपर्ने सभामुख अर्यालले उल्लेख गर्नुभयो।

अवलोकनका क्रममा स्थानीय जनप्रतिनिधि, प्रशासन तथा प्रभावित बासिन्दाले गल्छी क्षेत्रमा बाढीपहिरोबाट भएको क्षति, क्षतिग्रस्त सडक तथा पुलको अवस्था, पुनर्निर्माण र तत्काल आवश्यक राहतबारे सभामुख अर्याललाई जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्