मृतकको सम्मानमा झुकाइयो आधा राष्ट्रिय झण्डा
काठमाडौँ,भदौ २२ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा आज देशभर राष्ट्रिय शोक मनाइँदैछ।
भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार भोटेकोशीमा आएको अकल्पनीय बाढीका कारण मृत्युवरण गरेका व्यक्तिहरूप्रति सम्मान प्रकट गर्दै आज राष्ट्रिय शोक मनाइएको हो।
सरकारको निर्णयअनुसार आज देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ।
बाढी आएको १३औँ दिनमा सरकारले मृतकहरूप्रति उच्च सम्मान प्रकट गर्दै राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। सरकारले विपद्मा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

