‘खोज तथा उद्धारको आधिकारिक चरण जारी’



काठमाडौं,भदौ २२ । सुरक्षा निकायका अधिकारीहरुले भोटेकोशी क्षेत्रमा आएको बाढीपछि खोज तथा उद्धारको आधिकारिक चरण जारी रहेको बताउनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका अधिकारीले प्रभावित क्षेत्रहरूमा उद्धारसँगै राहत तथा पुनःस्थापना र पुल तथा अस्थायी संरचनाको निमार्ण कार्यको प्रारम्भिक काम अघि बढाइएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा नेपाली सेनाका अधिकारीहरुले बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा ठूलो ढुङ्गा, गहिरो लेदोका साथै प्रवेश स्थलमा हेलिकोप्टरबाट मात्र पुग्न सकिने स्थानमा समेत उद्धार कार्य जारी रहेको बताउनुभयो ।  

नेपाली सेनाका अधिकारीहरुले बाढीका कारण प्रभावित  जलविद्युत् आयोजनाका सुरुङमा बाढीको समय धेरै जसो कर्मचारीहरू सुरुङ भित्र नभएको समेत जानकारी दिनुभयो । 

यस्तै, सुरक्षा निकायका अधिकारीहरुले डिएनए नमुना सङ्कलन गरि शवहरू व्यवस्थापन भइरहेको र सीमापारि भेटिएका १८ शवहरूलाई पनि उक्त स्थानका स्थानीय तहसँग समन्वयमा गरि नेपाल ल्याइएको जानकारी दिनुभयो ।

प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढी आउँदा चीनतर्फ भागेर ज्यान बचाएका  १०० भन्दा बढी नेपाली नागरिकलाई चिनियाँ र नेपाली पक्षको समन्वयमा सकुशल फर्काइएको जानकारी दिनुभयो ।

कार्यकारी प्रमुख डा. उप्रेतीले सामाजिक सञ्जालमा फैलिएका पुराना र गलत भिडियो र सूचनाले नकारात्मक प्रभाव पारेको बताउँदै आधिकारिक स्रोतलाई मात्र विश्वास गर्न आग्रह गर्नुभयो । 

पत्रकार सम्मेलनमा गृहमन्त्री सुधन गुरुङ पनि उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्