मुस्ताङमा सबै प्रजातिका स्याउ टिप्न खुला, बगैँचामा चहलपहल बढ्यो
मुस्ताङ,भदौ २२ । मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न खुला गरिएको छ। जिल्लास्तरीय निर्णयअनुसार ढिलो पाक्ने स्याउको पोस्ट हार्भेस्ट अवधि सुरु भएसँगै किसानले बगैँचाबाट स्याउ टिप्न थालेका हुन्।
यसअघि छिटो पाक्ने प्रजातिका स्याउ भदौ १५ गतेदेखि टिप्न खुला गरिएको थियो। मुस्ताङमा उत्पादन हुने गाला, फुजी र साउने स्याउ छिटो पाक्ने प्रजातिमा पर्छन् भने अन्य प्रजाति ढिलो पाक्ने सूचीमा रहेका छन्।
मुस्ताङी स्याउको गुणस्तर र पहिचान कायम राख्न जिल्ला समन्वय समितिको अगुवाइमा सरोकारवाला कार्यालय तथा अगुवा कृषक सम्मिलित बैठकले स्याउ टिप्ने कार्यतालिका निर्धारण गरेको हो। जिल्ला समन्वय समिति प्रमुख माया गुरुङका अनुसार स्याउको गुणस्तर नखस्कियोस्, उत्पादन वृद्धि होस् र स्याउमा पर्याप्त गुलियोपना कायम रहोस् भन्ने उद्देश्यले टिपाइको समय निर्धारण गरिएको हो।
टिपाइ खुला भएसँगै मुस्ताङका स्याउ बगैँचामा किसान व्यस्त भएका छन्। जिल्लाभित्र तथा बाहिरका व्यापारी पनि किसानका बगैँचामै पुगेर स्याउ खरिद गर्न थालेका छन्। एक साताअघि मुस्ताङ पुगेका धादिङका स्याउ व्यापारी उर्चा तामाङले टिपाइ खुल्ने समय भएकाले आफू मुस्ताङ आएको बताउनुभयो। तीन दशकदेखि स्याउ व्यापार गर्दै आउनुभएका तामाङले यस वर्ष मुस्ताङबाट करिब एक करोड रुपैयाँ बराबरको स्याउ बजार पठाउने तयारी गरेको बताउनुभयो।
तर, कोरला नाकाबाट चिनियाँ स्याउसमेत भित्रिने सूचनाले भने व्यापारी र किसानमा चिन्ता बढाएको उहाँको भनाइ छ। विदेशी स्याउको आयात बढेमा स्थानीय स्याउ बिक्रीमा असर पर्न सक्ने उहाँले बताउनुभयो।
गत वर्ष मुस्ताङमा एक अर्ब १० करोड २३ लाख ७० हजार रुपैयाँ बराबरको स्याउ उत्पादन भएको थियो। उत्पादित स्याउमध्ये करिब ९० प्रतिशत जिल्ला बाहिर निकासी हुँदा ९९ करोड रुपैयाँ मुस्ताङ भित्रिएको कृषि तथा पशु विकास कार्यालयको तथ्याङ्क छ।
कार्यालयका अनुसार मुस्ताङका पाँच स्थानीय तहमा कुल ८९९ दशमलव १६ हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भएको छ। त्यसमध्ये ८३७ हेक्टरमा स्थानीय जात र ६२ हेक्टरमा उच्च घनत्वको स्याउ खेती गरिएको छ।
मुस्ताङमा कुल स्याउ खेती भएको क्षेत्रफलमध्ये ६२७ हेक्टरमा रहेका बोटले उत्पादन दिइरहेका छन्। कार्यालय प्रमुख डा. लालमणि अर्यालका अनुसार उत्पादन दिने क्षेत्रफलमध्ये ५७२ हेक्टरमा स्थानीय जात र ५५ हेक्टरमा उच्च घनत्वका स्याउका बोट रहेका छन्।

