बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा सहयोग गर्न प्रशासनको आग्रह
नुवाकोट,भदौ २२ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले भोटेकोशी–त्रिशुली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप व्यवस्थित, सहज र शीघ्र बनाउन स्थानीय तह तथा वडालाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न आग्रह गरेको छ।
यही भदौ १० गते भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीबाट नुवाकोटका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। बाढीपछि बेपत्ता तथा प्रभावितको खोजी र उद्धारका लागि स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका संयुक्त टोली प्रभावित क्षेत्रमा परिचालन भइरहेका छन्।
जिल्ला प्रशासन कार्यालयले प्रभावित स्थानीयवासीका घर तथा अन्य भौतिक संरचनाको खोजतलासका क्रममा आवश्यक समन्वय र सहजीकरण गर्न स्थानीय तह तथा वडा कार्यालयलाई अनुरोध गरेको हो।
यसैगरी भग्नावशेष उत्खनन तथा खोजी कार्यमा स्वयंसेवा गर्न इच्छुक व्यक्तिले सम्बन्धित वडाबाट अस्थायी पास लिएर मात्र सुरक्षाकर्मीसँगै स्वयंसेवामा खटिन सक्ने प्रशासनले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले जारी गरेको सूचनामार्फत प्रशासनले खोज तथा उद्धार कार्यमा सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ।

