भोटेकोसी बाढी प्रभावित जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी: प्रधानमन्त्री शाह
काठमाडौं,भदौ २२ । प्रधानमन्त्री बालेन्द्र शाहले भदौ १० गते रसुवागढीको करिब २० किलोमिटर उत्तरपूर्वमा रहेको लाङटाङ हिमालबाट गएको हिमपहिरोका कारण भोटेकोशी नदीमा आएको लेदोसहितको आकस्मिक बाढीबाट प्रभावित जलविद्युत् आयोजना क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको बताउनुभएको छ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत बाढीका कारण रसुवा र नुवाकोटका सञ्चालनमा रहेका तथा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको र आयोजनामा कार्यरत केही व्यक्ति सम्पर्कविहीन रहेकाले सुरुदेखि नै खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको जानकारी दिनुभएको हो।
उहाँका अनुसार रसुवागढी जलविद्युत् आयोजनामा हेडवक्र्सका सम्पूर्ण संरचना तथा पावरहाउस बाहिर र भूमिगत पावरहाउसमा रहेका अधिकांश सामग्रीमा क्षति पुगेको छ। नेपाली सेनाले सुरुङभित्र दुई सय ७५ मिटरसम्म पुगेर खोजी गरे पनि हालसम्म मानिस फेला नपरेपछि हेलिकप्टरबाट मिनी एस्काभेटर लगेर खोजी जारी राखिएको छ।
लाङटाङ जलविद्युत् आयोजनामा नेपाली सेना र भारतीय विशेषज्ञ टोलीले सुरुङभित्र करिब ६० मिटर प्रवेश गरी खोजी गर्दा ठूला चट्टान भेटिएको थियो। पछि ग्यास वेल्डिङमार्फत सुरुङमा प्वाल बनाएर खोजी गर्दा दुई शव फेला परेको र खोजी कार्य अझै जारी रहेको प्रधानमन्त्री शाहले बताउनुभएको छ।
चिलिमे जलविद्युत् आयोजनामा पनि दलदल पन्छाउँदै सुरुङभित्र करिब ९० मिटर प्रवेश गर्दा दुई शव फेला परेको उहाँले जानकारी दिनुभएको छ। खोजीका लागि एस्काभेटरसहितका उपकरण प्रयोग भइरहेका छन्।
माथिल्लो त्रिशूली एक जलविद्युत् आयोजनामा नेपाली सेना, चिनियाँ तथा कोरियन विशेषज्ञ टोलीले खोजी गरेको थियो। सुरुङभित्र करिब दुई सय मिटर पुगेपछि भेटिएको तालमा थर्मल ड्रोन प्रयोग गरी खोजी गरिएको थियो। खोजीका क्रममा एक शव फेला परेकोमा भदौ २० गते एक जनाको जीवितै उद्धार गर्नुका साथै थप दुई शव फेला पारिएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ।
नुवाकोटको त्रिशूली तीन ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा बाढी आएको पहिलो दिनदेखि नै खोजी सुरु गरिएको थियो। सुरुङको मुख पत्ता लगाउन कठिन भएपछि छवटा एस्काभेटर प्रयोग गरी उत्खनन गरिएको थियो। करिब २५ मिटर खनेपछि विद्युत्को तारका लागि प्रयोग हुने सुरुङ फेला परेको थियो। भदौ १९ गते दुई जनाको जीवितै उद्धार गरिएको र एक शव फेला परेको प्रधानमन्त्रीले जानकारी दिनुभएको छ। थर्मल इमेजिङ तथा इन्फ्रारेड क्यामेराबाट खोजी कार्य जारी छ।
त्रिशूली तीन ‘बी’ जलविद्युत् आयोजनामा पनि भदौ १० गतेदेखि नै खोजीको प्रयास भइरहेको छ। दलदलका कारण उपकरण लैजान कठिन भए पनि नेपाली सेना र आयोजनाका कर्मचारीको टोली सुरुङको प्रवेशविन्दुबाट दलदल पन्छाउँदै अडिट सुरुङभित्र करिब एक दशमलव सात किलोमिटर पुगेको र त्यहाँ एउटा गाडी फेला परेको छ। बाढीले आयोजनाका छवटा आवासीय र एउटा कार्यालय भवन पुरेकोमा १५ मिटर गहिराइसम्म उत्खनन भइसकेको जनाइएको छ।
प्रधानमन्त्री शाहले प्रभावित आयोजना क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली जोखिमपूर्ण अवस्थामा समेत निरन्तर खोज तथा उद्धारमा खटिएको बताउनुभएको छ। खोज तथा उद्धारलाई सहयोग गर्न मित्रराष्ट्रबाट समेत विशेषज्ञ टोली परिचालन भइरहेको उहाँको भनाइ छ।
प्रधानमन्त्री शाहले सीमित स्रोत, साधन र समयका बाबजुद खोज तथा उद्धार कार्यलाई अन्तिमसम्म जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै बाढी प्रभावित क्षेत्रमा आफ्नो जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराखिएको बताउनुभएको छ। उहाँले नेपालीको मानवतावादी स्वभावलाई व्यवहारमै उतार्दै हराइरहेकाको खोजी र उद्धारमा सरकार निरन्तर लागिरहेको उल्लेख गर्नुभएको छ।

