बाढीमा बुबाआमा गुमाएका बालबालिकाका लागि विदुरमा आश्रयस्थल



नुवाकोट,भदौ २२— भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट बुबाआमा गुमाएका बालबालिकाको विशेष हेरचाहका लागि विदुर नगरपालिकाले आश्रयस्थल सञ्चालनमा ल्याएको छ।

विदुर नगरपालिका–२ स्थित अन्नपूर्ण पञ्चकन्या आधारभूत विद्यालयमा आश्रयस्थल बनाएर प्रभावित बालबालिकाको बन्दोबस्ती मिलाइएको नगरपालिकाले जनाएको छ। हाल आश्रयस्थलमा चार जना बालिका र तीन जना बालक गरी सात जना बालबालिका रहेका छन्।

अभिभावकविहीन भएका थप बालबालिकालाई समेत सोही आश्रयस्थलमा राख्ने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ। उनीहरूको आवास, खानपान, शिक्षा, स्वास्थ्य तथा सुरक्षालगायतका आधारभूत आवश्यकताको व्यवस्थापनमा नगरपालिका गम्भीर र संवेदनशील भएर काम गरिरहेको छ।

बाढीका कारण अभिभावक गुमाएका बालबालिकालाई सुरक्षित वातावरणमा राख्दै उनीहरूको शिक्षा र स्वास्थ्यमा समेत निरन्तरता दिने गरी आवश्यक सम्पूर्ण प्रबन्ध मिलाइएको नगरपालिकाका मेयर राजन श्रेष्ठले जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्