भोटेकोशी बाढी प्रभावित विद्यार्थीका लागि एक अर्बको छात्रवृत्ति योजना
काठमाडौँ, भदौ २३ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षालाई निरन्तरता दिन करिब एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ ।शिक्षा तथा खेलकुद मन्त्रालयले निजी क्षेत्रका विद्यालय सञ्चालकका छाता सङ्गठनसँगको सहकार्यमा प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्म अध्ययनरत बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले योजना अघि सारेको हो ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा छात्रवृत्ति योजना घोषणा गर्नुभएको हो ।योजनाअनुसार प्रभावित विद्यार्थीलाई पूर्ण, आंशिक तथा आवासीय छात्रवृत्तिका साथै विद्यालय शुल्क छुट वा मिनाहा, पाठ्यपुस्तक, पोसाक, शैक्षिक सामग्री, आवास र खानालगायतका सुविधा उपलब्ध गराइनेछ ।
मन्त्री पोखरेलले विपद्को समयमा निजी तथा संस्थागत विद्यालयले देखाएको सामाजिक उत्तरदायित्वको प्रशंसा गर्दै प्रभावित बालबालिकाको शिक्षाका लागि राज्य र निजी क्षेत्रबीचको सहकार्य महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले विपद्बाट प्रभावित विद्यार्थीको तथ्याङ्कका आधारमा प्राथमिकता निर्धारण गरी छात्रवृत्ति वितरण गरिने जानकारी दिनुभयो ।
शिक्षा मन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले विपद्मा परेका बालबालिकाको शिक्षाको निरन्तरताका लागि तत्कालीन तथा दीर्घकालीन योजना अघि बढाइएको बताउनुभयो । मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईका अनुसार प्रभावित विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी आवश्यकता र औचित्यका आधारमा छात्रवृत्ति तथा शैक्षिक सहयोग उपलब्ध गराइनेछ ।
प्रभावित विद्यार्थीको पहिचान स्थलगत सर्वेक्षण तथा विद्यालय, वडा कार्यालय र स्थानीय तहको सिफारिसका आधारमा गरिनेछ ।कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, एसोसिएसन अफ प्रि–स्कुल एजुकेसन नेपाल र मन्टेश्वरी एसोसिएसन नेपाललगायत संस्थासँग सहकार्य गरिने जानकारी दिइएको छ । अन्य सरकारी तथा गैरसरकारी संस्थासँग पनि सहकार्य गरिने मन्त्रालयले जनाएको छ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घका अध्यक्ष युवराज शर्माले करिब एक हजार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने लक्ष्यसहित करिब एक अर्ब रुपैयाँ बराबरको कार्यक्रम अघि बढाइएको बताउनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाको सहयोग लिएर कार्यक्रमलाई दीर्घकालीन रूपमा सञ्चालन गरिने उहाँको भनाइ छ ।
यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तह प्रभावित भएका थिए । सरकारले ती स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
प्रारम्भिक विवरणअनुसार बाढीबाट रसुवा, नुवाकोट र धादिङका १९ विद्यालय पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । बाढीपछि १६ शिक्षक र २१७ विद्यार्थी सम्पर्कविहीन रहेको तथा ९ हजार ७४२ विद्यार्थीको सिकाइ प्रभावित भएको विवरणमा उल्लेख छ ।
छात्रवृत्ति योजनाले बाढीका कारण विद्यालय जान नसकेका, आर्थिक रूपमा कमजोर, अभिभावक वा परिवारका सदस्य गुमाएका वा सम्पर्कविहीन भएका तथा विशेष सहयोग आवश्यक पर्ने बालबालिकालाई प्राथमिकता दिनेछ । योजनाअन्तर्गत प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मका करिब एक हजार विद्यार्थीलाई पूर्ण, आंशिक वा आवासीय छात्रवृत्तिसहित आवश्यक शैक्षिक तथा भौतिक सहयोग उपलब्ध गराइनेछ।

