विपत्तिको समयमा सबै एकताबद्ध भएर उभिनुपर्छ : मन्त्री श्रेष्ठ
काठमाडौँ, भदौ २३ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको समयमा सबै नेपाली एकताबद्ध भएर उभिनुपर्ने बताउनुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँ जिल्ला कार्यसमितिले सोमबार साँझ बौद्धनाथ स्तूपामा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा मन्त्री श्रेष्ठले देश अहिले गहिरो प्राकृतिक विपत्ति र सङ्कटको घडीबाट गुज्रिरहेको भन्दै विपत्तिविरुद्ध एकजुट हुन आग्रह गर्नुभएको हो।
उहाँले विपत्तिमा बेपत्ता भएकाको खोजी, उद्धार तथा प्रभावितको पुनर्स्थापनाका लागि सरकार गम्भीरतापूर्वक लागिरहेको बताउनुभयो। कठिन परिस्थितिमा राज्यका सबै संयन्त्र र नागरिक एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा मन्त्री श्रेष्ठले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो।
यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको थियो। बाढीमा परी ज्यान गुमाएका नागरिकको सम्मानमा सरकारले सोमबार राष्ट्रिय शोक मनाएको हो।

