भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सामुदायिक प्रहरीलाई थप सक्रिय बनाइने



काठमाडौँ, भदौ २३ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत वितरणलाई प्रभावकारी बनाउन सामुदायिक प्रहरीलाई थप सक्रिय रूपमा परिचालन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले प्रभावित जिल्लामा परिपत्र गरेको छ।

बेपत्ताको खोजीलाई प्राथमिकतामा राख्दै बाढी प्रभावित क्षेत्रका नदी किनारा, भग्नावशेष तथा अन्य सम्भावित स्थानमा सामुदायिक प्रहरीका टोली परिचालन गरी खोजी कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिइएको हो।

नेपाल प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार सामुदायिक प्रहरीले प्रभावित नागरिकको मनोभाव बुझेर व्यवहार गर्ने, शव पहिचानमा सहयोग गर्ने, एम्बुलेन्स व्यवस्थापन तथा आपत्कालीन रक्तदान कार्यक्रम सञ्चालनमा सहायता गर्नेछ। त्यस्तै राहत वितरण, स्वास्थ्य उपचार, सवारीसाधन सञ्चालन तथा यात्रामा सहयोग गर्ने र भिडभाड तथा आपत्कालीन अवस्थामा माइकिङ गर्नेलगायतका काममा समेत प्रहरी परिचालन गरिनेछ।

विस्थापित नागरिकको जनधनको सुरक्षाका लागि प्रभावित क्षेत्रमा निरन्तर गस्ती तथा निगरानी गर्न पनि निर्देशन दिइएको छ। महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायत संवेदनशील वर्गमाथि हुन सक्ने हिंसा तथा दुर्व्यवहारप्रति थप संवेदनशील भई काम गर्न सामुदायिक प्रहरीलाई परिपत्र गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्