११२ स्थानीय तह अझै निरक्षर
काठमाडौँ, भदौ २३ । मुलुकबाट निरक्षरता उन्मूलनका लागि डेढ दशकदेखि अभियान सञ्चालन भइरहे पनि अझै ११२ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेका छन्।
हालसम्म ६८ जिल्ला साक्षर घोषणा भइसकेका छन्। साक्षर घोषणा हुन बाँकीमध्ये कर्णालीको डोल्पा र मधेश प्रदेशका अधिकांश स्थानीय तह छन्। मधेशका १३६ स्थानीय तहमध्ये २५ मात्रै पूर्ण साक्षर घोषणा भएका छन् भने थप २५ स्थानीय तह घोषणा हुने तयारीमा छन्।
सरकारले चालु आर्थिक वर्षभित्र बाँकी सबै जिल्लालाई साक्षर घोषणा गर्ने तयारी गरेको छ। पछिल्लो तथ्याङ्कअनुसार पाँच वर्षमाथिको साक्षरता दर ७६ दशमलव २ प्रतिशत रहेको छ।
सरकारले २०६५ सालदेखि साक्षरता अभियान सञ्चालन गर्दै आएको छ। अभियानमा हालसम्म करिब १० अर्ब रुपैयाँ खर्च भइसकेको जनाइएको छ। यद्यपि लक्ष्यअनुसार निरक्षरता अन्त्य हुन नसकेको भन्दै विज्ञहरूले अभियानको जिम्मेवारी र कार्यान्वयन प्रणाली स्पष्ट बनाउनुपर्नेमा जोड दिएका छन्।

