जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धदेखि राजनीतिक परिवर्तनको बहससम्म
काठमाडौं, भदौ २३ । एक वर्षअघि काठमाडौँका सडकमा देखिएको जेनजी पुस्ताको प्रदर्शन नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा लामो समयसम्म सम्झिइने घटनाका रूपमा स्थापित भएको छ। सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भएको आन्दोलन क्रमशः भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा, अवसरको असमानता र राजनीतिक नेतृत्वको कार्यक्षमताविरुद्धको व्यापक असन्तुष्टिमा परिणत भएको थियो।आज भदौ २३ गते उक्त आन्दोलनको एक वर्ष पूरा भएको छ।
आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि डिजिटल पुस्तामा असन्तुष्टि चुलिएको थियो। युवाका लागि सामाजिक सञ्जाल मनोरञ्जनको माध्यम मात्र नभई सूचना, अभिव्यक्ति, शिक्षा, व्यवसाय, रोजगारी र सामाजिक सम्बन्धको महत्वपूर्ण आधार बनिसकेको थियो। त्यसैले प्रतिबन्धलाई उनीहरूले अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए।
सामाजिक सञ्जालमै सुरु भएको विरोध केही दिनमै सडकमा पुग्यो। भदौ २३ र २४ गते काठमाडौँसहित देशका विभिन्न स्थानमा ठूलो सङ्ख्यामा युवा प्रदर्शनमा सहभागी भए। आन्दोलन विस्तार हुँदै जाँदा यसको मुद्दा सामाजिक सञ्जालको स्वतन्त्रताभन्दा निकै फराकिलो बन्यो।
भ्रष्टाचार नियन्त्रण, राजनीतिक जवाफदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सिर्जना, अवसरमा समानता, पारदर्शिता र राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागिता आन्दोलनका प्रमुख विषय बने।
जेनजी पुस्ताको असन्तुष्टि भने एकैदिन वा एउटै घटनाबाट सिर्जना भएको थिएन। लामो समयदेखि कायम राजनीतिक अस्थिरता, बेरोजगारी, महँगी, सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती, भ्रष्टाचारका आरोप, अवसरमा असमान पहुँच र राजनीतिक संरक्षणको संस्कृतिले युवामा निराशा बढाउँदै लगेको थियो।
उच्च शिक्षा हासिल गरेपछि पनि रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता धेरै युवाको साझा समस्या थियो। स्वदेशमै उद्यम गर्न खोज्दा प्रशासनिक झन्झट, पुँजीको अभाव, नीतिगत अनिश्चितता र सीमित बजारका कारण थप चुनौती सामना गर्नुपरेको थियो। युवाले राज्यबाट रोजगारीको अवसर मात्र खोजेका थिएनन्। उनीहरू योग्यताका आधारमा अवसर पाउने निष्पक्ष प्रणाली, पारदर्शी शासन र नागरिकप्रति उत्तरदायी राज्य चाहन्थे। सरकारी सेवा लिन राजनीतिक पहुँच वा चिनजान आवश्यक नपर्ने व्यवस्था उनीहरूको प्रमुख अपेक्षा थियो।
आन्दोलनले राजनीतिक दल र नेतृत्वमाथिसमेत गम्भीर प्रश्न उठायो। नयाँ पुस्ताले आफूलाई निर्वाचनका बेला मात्र सम्झिने मतदाता नभई नीति निर्माण र शासन प्रक्रियाको सक्रिय हिस्सेदारका रूपमा स्थापित गर्न खोजेको सन्देश दियो।आन्दोलनपछिका राजनीतिक घटनाक्रमले पनि परिवर्तनको जनचाहनालाई प्रतिबिम्बित गरेको देखिन्छ। गत फागुन २१ गते सम्पन्न निर्वाचनमा नयाँ राजनीतिक शक्तिले बलियो जनादेश प्राप्त गरेको छ। निर्वाचन परिणामलाई धेरैले पुरानो राजनीतिक कार्यशैलीप्रतिको असन्तुष्टि, नयाँ नेतृत्वप्रतिको अपेक्षा र परिवर्तनको चाहनाको अभिव्यक्तिका रूपमा विश्लेषण गरेका छन्।
यस अर्थमा जेनजी आन्दोलन केवल तत्कालीन असन्तुष्टिको विस्फोटमा सीमित रहेन। यसले नेपालको राजनीतिक बहसको दिशा परिवर्तन गर्न, नयाँ पुस्ताको अपेक्षालाई राजनीतिक एजेन्डाको केन्द्रमा ल्याउन र शासन प्रणालीप्रति नागरिकको प्रश्नलाई थप बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।

