एक महिनादेखि कर्णाली राजमार्ग अवरुद्ध, मुगुमा ग्यास र खाद्यान्नको अभाव



मुगु, भदौ २३ । भारी वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत झ्यारी–गमगढी र गमगढी–छायलबगर सडकखण्ड करिब एक महिनादेखि अवरुद्ध हुँदा मुगुमा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित भएको छ।

सडक अवरुद्ध भएपछि नेपालगञ्जलगायतका बजारबाट मुगुतर्फ ल्याइने एलपी ग्यास, खाद्यान्न, निर्माण सामग्रीसहित अत्यावश्यक वस्तु बाटोमै रोकिएका छन्। गमगढीदेखि ग्रामीण तथा दुर्गम करान भेगसम्म सामान ढुवानी हुन नसक्दा स्थानीयवासी थप समस्यामा परेका छन्।

यस वर्ष मुगुम कार्मारोङ गाउँपालिकामा चिनियाँ हाटबजारसमेत सञ्चालन हुन नसकेको र गमगढीदेखि छायलबगरसम्म विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा आपूर्ति समस्या झन् बढेको हो।गमगढीका व्यवसायी सन्तोष मल्लले लामो समयदेखि सडक बन्द हुँदा एलपी ग्यासको अभाव बढ्दै गएको बताउनुभयो। ग्यास नियमित आपूर्ति नहुँदा व्यवसाय सञ्चालनमा समेत कठिनाइ भएको उहाँको भनाइ छ।

सडक बन्द हुँदा सिमेन्ट, छड, जस्तापाता, पाइपलगायत निर्माण सामग्रीको ढुवानीसमेत रोकिएको छ। यसले निजी तथा सरकारी निर्माणका काम प्रभावित भएका छन्।

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार झ्यारी क्षेत्रमा लगातारको वर्षाका कारण दलदलसहितको पहिरो बगिरहेकाले सडक खुलाउन कठिनाइ भइरहेको छ। मौसममा सुधार आएपछि पहिरो पन्छाएर सडक सञ्चालनलाई प्राथमिकतामा राखिने कार्यालयले जनाएको छ।

लामो समय सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको अभावसँगै बजारमा मूल्यवृद्धि हुन सक्ने चिन्ता स्थानीयमा बढेको छ। स्थानीयले तत्काल पहिरो पन्छाएर सडक सञ्चालन गर्न तथा झ्यारीलगायत जोखिमयुक्त क्षेत्रमा दीर्घकालीन संरचना निर्माण गर्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्