सडक अवरुद्ध भएपछि काठमाडौँमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्यो



काठमाडौँ, भदौ २३ । भोटेकोशी हिमबाढीका कारण यातायात अवरुद्ध भएसँगै काठमाडौँ उपत्यकामा खाद्यान्न, हरियो तरकारी, फलफूल तथा खाना पकाउने एलपी ग्यासको मूल्य बढेको छ। वैकल्पिक र लामो मार्ग प्रयोग गरी सामान ढुवानी गर्नुपर्दा लागत तथा समय बढेको व्यवसायीको भनाइ छ।

हिमबाढीले पृथ्वी राजमार्गको गल्छी सडकखण्ड प्रभावित भएपछि सडक केही समय खुले पनि कृष्णभिरमा बाढीले सडक कटान गरी भासिएपछि काठमाडौँ भित्रिने प्रमुख मार्ग पुनः अवरुद्ध भएको छ।त्यसका कारण ठूला मालवाहक ट्रकबाट एकैपटक ठूलो परिमाणमा सामान ल्याउन नसकिएको व्यवसायीले बताएका छन्।

नेपाल चामल, तेल, दाल उद्योग सङ्घ तथा नेपाल खाद्य किराना तथा थोक व्यवसायी सङ्घका अनुसार काठमाडौँका गोदाममा तत्काल अभाव हुने अवस्था छैन। सामान्य अवस्थामा उपत्यकामा करिब तीन महिनालाई पुग्ने चामल र एक महिनालाई पुग्ने अन्य खाद्यान्न मौज्दात रहने व्यवसायीको भनाइ छ।

तर, ढुवानी असहज भएपछि खाद्यान्नको मूल्य पाँचदेखि २० प्रतिशतसम्म बढेको छ। सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठका अनुसार पछिल्लो समय खाद्यान्नको मूल्य बढ्नुको प्रमुख कारण ढुवानी लागत वृद्धि हो।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो एक सातामा चिनी प्रतिकिलो १२० रुपियाँबाट १३५ रुपियाँ, काँचो तोरीको तेल प्रतिलिटर ३७० बाट ४२० रुपियाँ र सूर्यमुखी तेल २९५ बाट ३१० रुपियाँ पुगेको छ। जिरा मसिनो चामलको मूल्य प्रतिबोरा दुई हजार तीन सयबाट दुई हजार पाँच सय रुपियाँ पुगेको सङ्घले जनाएको छ।

खुद्रा व्यापार सङ्घका महासचिव अमुलकाजी तुलाधरले गोदाममा पर्याप्त मौज्दात रहेको दाबी गर्ने उद्योगी तथा थोक व्यवसायीले ढुवानीको कारण देखाउँदै विभिन्न वस्तुको मूल्य बढाएको भन्दै प्रश्न उठाउनुभएको छ। उहाँले विपत्का बेला बजारमा सीमित व्यापारीले मनपरी मूल्य बढाउन सक्ने भएकाले बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने बताउनुभयो।

अनुगमन तीव्र बनाएको विभागको दाबी

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विपत्को समयमा कालोबजारी, कृत्रिम अभाव र अनुचित मूल्यवृद्धि गर्नेलाई कारबाही गर्ने जनाएको छ।

विभागका निर्देशक अनिल किराँतीका अनुसार पृथ्वी राजमार्ग बन्द भएपछि काठमाडौँमा भित्रिने खाद्यान्न, तरकारी तथा फलफूलको मूल्य र आपूर्तिको अवस्थालाई केन्द्रित गरी अनुगमन तीव्र पारिएको छ। ठूला गोदामदेखि खुद्रा पसलसम्म अनुगमन गरी कानुनविपरीत कार्य गर्ने व्यवसायीलाई कारबाही तथा जरिबाना गरिएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्