भारत लैजान लुकाएर राखिएका ८०१ थान शालिग्राम बरामद



नवलपरासी, भदौ २३ । सुस्ता गाउँपालिका–३ पथरकलास्थित सीमा क्षेत्रबाट भारततर्फ अवैध रूपमा लैजान लुकाएर राखिएका ८०१ थान शालिग्राम प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार भन्सार छली गरी भारततर्फ लैजानका लागि सीमा क्षेत्रमा बेवारिसे अवस्थामा लुकाएर राखिएका शालिग्राम बरामद गरिएको हो।

प्रहरी चौकी कुडियाबाट खटिएको गस्ती टोलीले सीमा क्षेत्रमा बेवारिसे अवस्थामा राखिएका शालिग्राम फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ। बरामद शालिग्रामको अनुमानित मूल्य तीन लाख २० हजार रुपैयाँ रहेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार बरामद शालिग्राम आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्