बाढी प्रभावित विद्यालय भोलिदेखि खुल्ने, पीडितलाई मासिक १० हजार घरभाडा



विदुर, भदौ २३ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित विदुर नगरपालिकाका अधिकांश विद्यालय भोलि भदौ २४ गतेदेखि सञ्चालनमा आउने भएका छन् । बाढी गएको दुई सातापछि नगरपालिकाले विद्यालय सञ्चालनको तयारी थालेको हो ।

विदुर नगर कार्यपालिकाको बैठकले बाढीका कारण बन्द रहेका विद्यालयको अवस्था मूल्याङ्कन गरी सञ्चालनमा ल्याउने निर्णय गरेको हो । नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयलाई पत्राचार गर्दै अस्थायी आवास केन्द्रका रूपमा प्रयोग भइरहेका र पूर्ण रूपमा क्षति भएका विद्यालयबाहेक अन्य विद्यालयमा नियमित पठनपाठन सञ्चालन गर्न आग्रह गरेको छ ।

भदौ १० गते आएको बाढीबाट विदुर नगरपालिकाका सामुदायिक तथा संस्थागत गरी आठ विद्यालय पूर्ण रूपमा प्रभावित भएका छन् । विद्यालय भवन तथा भौतिक संरचनामा क्षति पुगेकाले ती विद्यालयमा तत्काल नियमित पठनपाठन सञ्चालन गर्न कठिनाइ भएको नगरपालिकाले जनाएको छ ।

बाढी र त्यसपछिको विपद्का कारण करिब तीन सय विद्यार्थी सम्पर्कविहीन रहेको जनाइएको छ । उनीहरूको अवस्था र हालको बसोबासबारे खोजी तथा आवश्यक समन्वय गर्नुपर्ने अवस्था रहेको नगरपालिकाले जनाएको छ ।

विद्यालय सञ्चालन गर्दा विद्यार्थीको सुरक्षा, विद्यालयको भौतिक अवस्था र आवतजावतको अवस्थालाई प्राथमिकता दिन नगरपालिकाले आग्रह गरेको छ । अस्थायी आवास केन्द्रका रूपमा प्रयोग भइरहेका विद्यालयलाई समेत केही दिनभित्र अन्यत्र व्यवस्थापन गरी पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

विदुर नगरपालिकाभित्र रहेका अस्थायी आवास केन्द्रमा अन्य जिल्ला तथा पालिकाबाट आएका बाढी प्रभावित नागरिकलाई सम्बन्धित जिल्ला तथा पालिकासँग समन्वय गरी अन्यत्र व्यवस्थापन गर्न पनि नगरपालिकाले आग्रह गरेको छ । पूर्ण रूपमा क्षति भएका विद्यालयका विद्यार्थीका लागि भने वैकल्पिक व्यवस्थामार्फत पठनपाठन सञ्चालन गर्नुपर्ने भएको छ ।

बाढी प्रभावित विद्यार्थी, सर्वसाधारण तथा पीडितलाई मनोसामाजिक परामर्शको समेत आवश्यकता रहेको नगरपालिकाले जनाएको छ ।

बाढीपीडितलाई मासिक १० हजार घरभाडा

विदुर नगरपालिकाले बाढीका कारण घर बस्न अयोग्य भएका नगरवासीलाई तत्कालका लागि घरभाडाबापत मासिक १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको बैठकले बाढीपीडित तथा विस्थापित नागरिकको व्यवस्थापन र पुनःस्थापनाका लागि पाँचबुँदे निर्णय गर्दै प्रभावित परिवारलाई आवश्यक खाद्यान्न, लत्ताकपडा, भान्साका सामग्री तथा सरसफाइ सामग्री उपलब्ध गराउने निर्णयसमेत गरेको हो ।

नगरपालिकाले कोठा भाडामा लिँदा वा दिँदा चलनचल्तीभन्दा बढी भाडा लिएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गर्ने जनाएको छ ।

त्यस्तै, तीनै तहका सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था तथा दातृ निकायको सहकार्यमा अस्थायी आवास निर्माण गरी बाढीपीडितको पुनःस्थापना गर्ने निर्णय गरिएको छ ।

भोटेकोशी–त्रिशूली बाढीपछि विस्थापित परिवारको आवास व्यवस्थापनसँगै विद्यालय सञ्चालन चुनौती बनेका बेला नगरपालिकाका निर्णयले प्रभावित नागरिकलाई तत्काल राहत र पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको नगरप्रमुख राजन श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्