गोरखामा त्रिशूली किनारबाट हालसम्म ७५ शव सङ्कलन



गोरखा, भदौ २३ । रसुवा हुँदै आएको बाढीका कारण त्रिशूली नदीमा बगेका मानिसका शव तथा मानव अङ्ग गोरखाका विभिन्न स्थानमा फेला परेका छन्। भदौ १० गतेदेखि मङ्गलबार बिहान ६ बजेसम्म त्रिशूली नदी किनारबाट ७५ वटा शव तथा मानव अङ्ग फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार नदीको गोरखातर्फको बगरमा अङ्गभङ्ग भएको अवस्थामा शव तथा मानव अङ्ग फेला परेका हुन्। फेला परेकामध्ये ६६ वटाको व्यवस्थापन गरिएको छ भने ६ वटा शव पहिचान गरी परिवारलाई जिम्मा लगाइएको छ।

पहिचान हुन सक्ने अवस्थाका तथा शरीरमा ट्याटु रहेका तीन वटा शव भने प्रादेशिक अस्पताल गोरखामा राखिएको प्रहरीले जनाएको छ।

त्रिशूली नदी किनारमा शव खोजी तथा व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दा र जनप्रतिनिधिको टोली निरन्तर खटिएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो।

प्रहरीका अनुसार गण्डकी गाउँपालिका–८ धवादीघाट, वडा नं. ६ भूम्लिचोक, वडा नं. १ बुट्टार, वडा नं. ४ ठेउवाटार, वडा नं. ७ ज्यामिरेघाट तथा सहिद लखन गाउँपालिका–४ सिलिङटारस्थित त्रिशूली नदी किनारबाट शव तथा मानव अङ्ग फेला परेका हुन्।

सम्बन्धित प्रहरी युनिटले फेला परेका शव तथा मानव अङ्ग सुरक्षित रूपमा सङ्कलन गरी थप अनुसन्धान अघि बढाएको छ। बाढीपछि विगत १३ दिनदेखि त्रिशूली नदी किनारमा खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्