भोटेकोशी बाढीबारे आपत्तिजनक भिडियो बनाउने युवक पक्राउ
काठमाडौँ, भदौ २३ । सामाजिक सहिष्णुतामा आघात पुर्याउने तथा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने र अपमानित गर्ने सामग्री सामाजिक सञ्जालमा प्रसारण गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडैलाई आइतबार साइबर ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । बैतडीको सुर्नया गाउँपालिका–७ घर भएका मडैले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिलाई लिएर विभिन्न जातजातिलाई लक्षित गर्दै होच्याउने, अपमानित गर्ने तथा विपत्तिमा खुसी व्यक्त गर्ने खालका भिडियो बनाएर फेसबुक रिलमा राखेको प्रहरीको भनाइ छ ।
पछिल्लो समय सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह, भ्रामक समाचार तथा सामाजिक सद्भावमा असर पार्ने सामग्री प्रसारण गर्नेविरुद्ध प्रहरीले निगरानी र कारबाही तीव्र बनाएको छ ।केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार विपत्तिका कारण पीडामा रहेका नागरिकलाई थप पीडा हुने गरी सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री राख्ने, त्रास फैलाउने तथा सामाजिक सहिष्णुतामा आघात पुर्याउने गतिविधि नियन्त्रण गर्न प्रहरी सक्रिय भएको छ ।
प्रहरीका अनुसार पछिल्लो तथ्याङ्कमा फेसबुकमा १६८, टिकटकमा चार र इन्स्टाग्राममा एक गरी १७३ वटा गलत सूचना, अफवाह तथा भ्रामक समाचारजन्य सामग्री प्रसारण भएको पाइएको छ । तीमध्ये फेसबुकका ७९ र टिकटकका चार सामग्री साइबर सक्रियतामार्फत सामाजिक सञ्जालबाट हटाइएको प्रहरीले जनाएको छ ।
यस्ता गतिविधिको अनुगमन, पहिचान तथा नियन्त्रणका लागि साइबर ब्युरोका प्रहरी नायब उपरीक्षक गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ । समितिले सामाजिक सहिष्णुतामा आघात पुर्याउने सामग्रीको अनुसन्धान तथा पहिचान गरी सम्बन्धित प्रहरी कार्यालय र सरोकारवाला निकायसँग समन्वय गरेर आवश्यक कारबाही गर्नेछ ।
प्रहरी नायब उपरीक्षक आचार्यले सामाजिक सञ्जालमार्फत अञ्जानमा गलत सामग्री पोष्ट वा सेयर गर्नेलाई सामग्रीको गम्भीरता हेरी सचेत गराउने र हटाउन लगाउने गरिएको बताउनुभयो । जानाजान गलत सूचना, अफवाह वा भ्रामक सामग्री फैलाउनेलाई भने कानुनी दायरामा ल्याउने उहाँको भनाइ छ ।
विपद्को मौका छोपी राहत सङ्कलनका नाममा हुनसक्ने ठगी तथा अन्य अपराध नियन्त्रणमा समेत प्रहरी सक्रिय रहेको प्रवक्ता काफ्लेले बताउनुभयो । सामाजिक सञ्जालमार्फत फैलाइने गलत सूचना र अफवाहको निगरानी अझ तीव्र बनाउँदै सामाजिक सहिष्णुतामा आघात पुर्याउने गतिविधिमा संलग्नलाई कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।

