बाढी प्रभावित नुवाकोट र रसुवामा हैजाविरुद्ध खोप पठाइयो
काठमाडौँ, भदौ २३ । बाढी प्रभावित क्षेत्रमा हैजा सङ्क्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हैजाविरुद्धको खोप पठाउन थालेको छ ।
मन्त्रालयले आज नुवाकोटका लागि ८० हजार ५२३ डोज अर्थात् २३ बक्स हैजाविरुद्धको खोप पठाएको छ । खोपसँगै १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, शून्य दशमलव ६ लिटर क्षमताका २२० थान आइस प्याक र आठ थान फ्रिज ट्यागसमेत पठाइएको मन्त्रालयले जनाएको छ ।
यसअघि रसुवामा आइतबार हेलिकप्टरमार्फत २१ हजार डोज हैजाविरुद्धको खोप पठाइसकिएको छ । रसुवामा यही बिहीबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको छ ।
बाढीका कारण खानेपानी तथा सरसफाइ प्रणाली प्रभावित भएकाले हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ्न सक्ने मन्त्रालयले जनाएको छ । जोखिमयुक्त क्षेत्रमा सङ्क्रमण रोकथामलाई प्राथमिकता दिँदै खोप अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयको भनाइ छ ।

