जेन्जी आन्दोलन नयाँ जागरणको विस्फोट : रवि लामिछाने
काठमाडौँ, भदौ २३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेन्जी आन्दोलनलाई नेपाली इतिहासमा नयाँ जागरणको विस्फोटका रूपमा व्याख्या गरेका छन्।
आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा सामाजिक सञ्जालमार्फत लामिछानेले भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताविरुद्ध युवा पुस्ता सडकमा उत्रिएको बताएका छन्।
भाद्र २३ र २४ गते भएका घटनाप्रति दुःख व्यक्त गर्दै उनले परिवर्तनका लागि अब कुनै पनि आमाको काख नरित्तियोस् भन्ने कामना गरेका छन्। नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजको माग गर्दै ज्यान गुमाएका आन्दोलनकारीप्रति उनले श्रद्धाञ्जली व्यक्त गरेका छन्। कर्तव्य पालनका क्रममा ज्यान गुमाएका प्रहरीप्रति पनि उनले श्रद्धाञ्जली अर्पण गरेका छन्।
आन्दोलनका क्रममा अङ्गभङ्ग भएका, घाइते तथा मानसिक र शारीरिक चोट भोगेकाहरूप्रति सम्मान व्यक्त गर्दै लामिछानेले राज्यले पीडित परिवारको उचित हेरचाह, घाइतेको पूर्ण उपचार तथा दीर्घकालीन पुनर्स्थापनाको दायित्व पूरा गर्नुपर्ने बताएका छन्।
उनले जेन्जी आन्दोलनलाई परम्परागत राजनीतिक शैलीप्रतिको स्पष्ट ‘अस्वीकृति पत्र’ को संज्ञा दिएका छन्। डिजिटल युगमा हुर्किएको, विश्वव्यापी चेतना बोकेको, स्वाभिमानी र आफ्नै देशभित्र भविष्य खोजिरहेको युवा पुस्ताले कुशासन स्वीकार नगर्ने सन्देश आन्दोलनले दिएको उनको भनाइ छ।
लामिछानेले जेन्जी आन्दोलन कुनै राजनीतिक दलको आह्वानमा नभई पूर्णतः स्वस्फूर्त रूपमा भएको दाबी गरेका छन्। उनले कुनै पनि राजनीतिक दल वा नेताले आन्दोलनलाई आफ्नो सङ्कुचित राजनीतिक लाभको औजार बनाउन नहुने बताएका छन्।
आन्दोलनका क्रममा युवाले उठाएका प्रश्नको जवाफ दिने ठाउँमा अहिले आफूहरू उभिएको उल्लेख गर्दै लामिछानेले आगामी दिनमा आफूहरूसँग पनि जवाफ माग्न नयाँ पुस्ता उभिन सक्ने बताएका छन्। उनले युवा, नागरिक समाज तथा आम नागरिकलाई रास्वपाको कामको रचनात्मक खबरदारी र निर्मम समीक्षा गर्न आग्रह गरेका छन्।
यद्यपि, आम मनोविज्ञानमा निराशाको भाष्य स्थापित हुन नदिन पनि उनले आग्रह गरेका छन्। नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्ने ऐतिहासिक यात्रामा सबै एकताबद्ध हुनुपर्ने उनको भनाइ छ।
लामिछानेले जेन्जी आन्दोलनले अघि सारेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट रास्वपा एक इन्च पनि विचलित नहुने दृढता व्यक्त गरेका छन्।

