भोटेकोशी बाढीमा मृतकको संख्या एक हजार ३५७ पुग्यो, पाँच हजारभन्दा बढी अझै सम्पर्कविहीन
काठमाडौं,भदौ २३ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा हालसम्म एक हजार ३५७ जनाको शव फेला परेको जनाएको छ । फेला परेका शवमध्ये विभिन्न स्थानबाट मानव अङ्गसमेत भेटिएका छन् ।
प्राधिकरणका अनुसार फेला परेका शवमध्ये १०२ जनाको सनाखत भई परिवारले बुझिसकेका छन् । बाढीपछि अझै करिब पाँच हजार ३२६ जना सम्पर्कविहीन रहेको जनाइएको छ । सम्पर्कविहीनमध्ये रसुवाका दुई हजार ८६०, नुवाकोटका एक हजार ९८१ नेपाली तथा करिब ५८७ विदेशी पर्यटक रहेका छन् ।
प्राधिकरणका प्रवक्ता शान्ति महतले हालसम्म १३ हजार ५८३ जनाको उद्धार गरिएको जानकारी दिनुभयो । बाढीबाट घाइते भएका छ हजार ८२७ जनाको उपचार गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार विभिन्न १० अस्पतालमा ३२७, नेपाली सेनामार्फत तीन हजार ४०४ र सशस्त्र प्रहरी बलमार्फत तीन हजार ९६ जनाको उपचार गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्राधिकरणका अनुसार नेपाल प्रहरीका सात हजार ९१२, नेपाली सेनाका नौ हजार २८७ र सशस्त्र प्रहरी बलका चार हजार २०३ गरी २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन भएका छन् ।
प्रभावित क्षेत्रमा ३९ वटा होल्डिङ सेन्टर स्थापना गरी तीन हजार ५३३ जनालाई राखिएको छ । तीमध्ये रसुवामा ६६९, नुवाकोटमा दुई हजार ६५१ र धादिङमा २१३ जना रहेका छन् ।
उद्धार तथा राहतका लागि नेपाली सेनाले एक हजार १५७ पटक, काठमाडौँबाट निजी क्षेत्रले १२९ पटक र सशस्त्र प्रहरी बलले २०३ पटक हेलिकप्टर उडान गरेका छन् ।
सरकारले रसुवामा एक करोड, नुवाकोटमा एक करोड र धादिङमा ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ । यस्तै, प्रभावित १५ पालिकालाई १३ करोड ५० लाख रुपैयाँ राहत उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ ।
प्रभावित क्षेत्रमा हाल डिजेल ५० हजार लिटर, पेट्रोल १८ हजार लिटर र हवाई इन्धन १८ हजार लिटर मौज्दात रहेको छ । यस्तै, ४५७ वटा ग्यास सिलिन्डर अनुदानमा उपलब्ध गराइएको छ ।
विद्युत् आपूर्तितर्फ पनि प्रभावित क्षेत्रमा सेवा पुनःस्थापना भइरहेको छ । प्राधिकरणका अनुसार रसुवाका ७८ प्रतिशत, नुवाकोटका ९६ दशमलव ७ प्रतिशत र धादिङका ९९ दशमलव ८ प्रतिशत घरधुरीमा विद्युत् सेवा सुचारु भएको छ ।
बाढी प्रभावितको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य मन्त्रालयमार्फत १५० जनाभन्दा बढी जनशक्ति परिचालन गरिएको छ । उनीहरूमार्फत प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्श सेवा प्रदान भइरहेको प्राधिकरणले जनाएको छ।

