प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा
काठमाडौं,भदौ २३ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार बिहान ९ बजेसम्म दुवै कोषमा गरी ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ रुपैयाँ जम्मा भएको हो।
कार्यालयका अनुसार हाल नौ वटा वाणिज्य बैङ्कमा ८ अर्ब ५९ करोड १९ लाख ४ हजार २२३ रुपैयाँ मौज्दात रहेको छ। कोषमा जम्मा भएको रकममध्ये यसअघि रसुवाका बाढीपीडितका लागि एक अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नाममा निकासा भइसकेको छ।
त्यस्तै, हिमालयन बैङ्क लिमिटेड र लक्ष्मी सनराइज बैङ्क लिमिटेडमा रहेको डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
कोषमा जम्मा भएको रकम विपद् प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा परिचालन गरिँदै आएको छ।

