बाढी प्रभावित क्षेत्र जोड्न तुइन, बेलिब्रिज र झोलुङ्गे पुल निर्माण : मुख्यमन्त्री थापामगर



भक्तपुर,भदौ २३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रलाई जोड्न तुइन, बेलिब्रिज र झोलुङ्गे पुल निर्माणको काम अघि बढाइएको बताउनुभएको छ।

विपद्पछि प्रभावित क्षेत्रमा बागमती प्रदेश सरकारको उपस्थितिबारे जानकारी दिन मंगलबार भक्तपुरको जगातीमा आयोजित पत्रकार साक्षात्कारमा मुख्यमन्त्री थापामगरले नदी वारपार गर्न तथा खाद्यान्न र औषधि ढुवानीका लागि प्रदेश सरकारले तुइन जडान गरेको जानकारी दिनुभयो। सङ्घ र प्रदेश सरकारको पहलमा बेलिब्रिज निर्माण सुरु गरिएको तथा झोलुङ्गे पुल निर्माणका लागि प्रारम्भिक काम अघि बढाइएको उहाँले बताउनुभयो।

कृष्णभीरमा पहिरो गएपछि वैकल्पिक सडकका रूपमा प्रदेश सरकारले भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकखण्ड सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो। हेटौँडा–काठमाडौँ सडकखण्डमा पहिरो पन्छाएर यातायात सञ्चालन सहज बनाउन डोजर परिचालन गरिएको उहाँको भनाइ छ।

भदौ १० गते रसुवामा बाढी आएलगत्तै प्रदेश सरकारले स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा उद्धार तथा राहतलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको मुख्यमन्त्री थापामगरले बताउनुभयो। उहाँका अनुसार बाढीपहिरोबाट बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितवनका १५ स्थानीय तह प्रभावित भएका छन् भने सात हजारभन्दा बढी नागरिक प्रभावित भएका छन्।

रसुवाका गोसाईंकुण्ड, आमाछोदिङ्मो, कालिका र उत्तरगया गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन्। गोसाईंकुण्ड र उत्तरगयामा स्वास्थ्य चौकी, अस्पताल तथा पालिका भवनमा क्षति पुग्नुका साथै जनप्रतिनिधि र सर्वसाधारणले ज्यान गुमाएको उहाँले बताउनुभयो। नुवाकोटका विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, किस्पाङ र तारकेश्वर तथा धादिङका गल्छी, सिद्धलेक, गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा समेत ठूलो क्षति पुगेको उहाँले जानकारी दिनुभयो।

पीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन चार वटा अस्थायी सेल्टर र चार वटा होल्डिङ सेन्टर सञ्चालन गरिएको मुख्यमन्त्री थापामगरले बताउनुभयो। ती स्थानमा खाना, बास तथा आवश्यक सामग्रीको व्यवस्था गरिएको र हाल राहतको अभाव नरहेको उहाँको भनाइ छ।

बाढी प्रभावित क्षेत्रमा थप अप्रिय घटना हुन नदिन १६ जना मनोपरामर्शदाता परिचालन गरिएको तथा महामारी फैलिन नदिन आवश्यक औषधि र स्वास्थ्य सामग्री पुर्‍याउने काम भइरहेको उहाँले जानकारी दिनुभयो।

मुख्यमन्त्री थापामगरका अनुसार रसुवा र नुवाकोटलाई एक–एक करोड तथा धादिङ र चितवनलाई ५०–५० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय कार्यान्वयनमा ल्याइएको छ। शव व्यवस्थापन, सद्गद्, डिएनए परीक्षण तथा स्वास्थ्य सेवाका लागि समेत प्रदेश सरकारले आवश्यक व्यवस्थापन गरिरहेको उहाँले बताउनुभयो।

बाढीमा ज्यान गुमाएकाको शव व्यवस्थापन तथा सद्गद्का लागि प्रतिशव २५ हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो। अभिभावकविहीन बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क शिक्षा तथा आवश्यकताअनुसार तत्काल आवासीय विद्यालयको व्यवस्था गरिने उहाँको भनाइ छ।

अवरुद्ध सडक सञ्चालन गर्न भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका पूर्वाधार विकास कार्यालयमार्फत नुवाकोट र रसुवा दुवैतर्फ मेसिन परिचालन गरिएको छ। वैकल्पिक मार्ग निर्माण तथा सडक खुलाउने काम भइरहेको भन्दै मुख्यमन्त्री थापामगरले प्रदेश विपद् व्यवस्थापन कोषबाट प्रभावित जिल्लालाई तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरिएको पनि जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्