किम्रुङ खोलामा पहिरो खसेर खोला थुनियो, नयाँपुल र बिरेठाँटीका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह
पर्वत,भदौ २३। पर्वतस्थित मोदी खोलाको शाखा खोला किम्रुङ खोलामा पहिरो खसेर खोला थुनिएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले आज साँझ सूचना जारी गर्दै खोला थुनिएकाले तल्लो क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ ।
कार्यालयका अनुसार अर्को सूचना जारी नभएसम्म कालीगण्डकी दोभानसम्मको तल्लो क्षेत्रअन्तर्गत नयाँपुल, बिरेठाँटी तथा आसपासका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ ।
प्रशासनले मोदी नदी करिडोरमा आवागमन नगर्नसमेत सर्वसाधारणलाई सूचित गरेको छ । किम्रुङ खोलामा पहिरोका कारण पानीको बहाव अवरुद्ध भएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।

