देवीघाटमा ६० मिटर लामो अस्थायी फलामे पुल निर्माण तीव्र, बिहीबारदेखि सञ्चालनमा आउने
नुवाकोट,भदौ २४ । नुवाकोटको विदुरस्थित देवीघाटमा तादी खोलामाथि ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र पारिएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण देवीघाटस्थित पक्की पुल बगाएपछि उक्त मार्गमा यातायात सेवा ठप्प भएको थियो। अवरुद्ध यातायात पुनः सञ्चालनमा ल्याउने उद्देश्यले अस्थायी पुल निर्माण थालिएको हो।
साविकको पक्की पुलका दुवै छेउमा रहेका टेका प्रयोग गरी नयाँ फलामे पुल जडान भइरहेको छ। तीन दिनअघि सुरु गरिएको जडान कार्य आजै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण सम्पन्न भएपछि प्राविधिक परीक्षण गरी बिहीबारदेखि पुलमार्फत सवारी साधन सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
पुल निर्माणका लागि आवश्यक सम्पूर्ण प्राविधिक तथा भौतिक सामग्री नेपाली सेनाले जुटाएको हो। पुलको निर्माण तथा जडान कार्य पनि नेपाली सेनाको दक्ष प्राविधिक टोलीले गरिरहेको छ।
स्थानीय यातायात तथा जनजीवनलाई यथाशीघ्र सहज बनाउने उद्देश्यले सेनाले निरन्तर काम गरिरहेको जनाएको छ। जडान कार्य सम्पन्न भएपछि प्राविधिक परीक्षण गरिने र परीक्षण सफल भएलगत्तै उक्त मार्ग सवारी आवागमनका लागि खुला गरिनेछ।

