बाढी प्रभावित नुवाकोटमा आजदेखि विद्यालय सञ्चालन



नुवाकोट,भदौ २४ । नुवाकोटको विदुर नगरपालिकाभित्र भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीका कारण बन्द रहेका अधिकांश विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन्।

नगर कार्यपालिकाले भदौ २१ गते गरेको निर्णयअनुसार बाढी गएको दुई सातापछि भदौ २४ गतेदेखि विद्यालय सञ्चालन गर्न लागिएको हो।

नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयलाई पत्राचार गर्दै अस्थायी आवास केन्द्रका रूपमा प्रयोग भइरहेका र पूर्ण रूपमा क्षति भएका विद्यालयबाहेक अन्य विद्यालय नियमित सञ्चालन गर्न अनुरोध गरेको छ।

भदौ १० गते आएको विनाशकारी बाढीका कारण विदुर नगरपालिकाका सामुदायिक तथा संस्थागत गरी आठ वटा विद्यालय पूर्ण रूपमा प्रभावित भएका छन्। विद्यालयका भवन तथा भौतिक संरचनामा क्षति पुगेकाले ती विद्यालयमा तत्काल नियमित पठनपाठन सञ्चालन गर्न कठिनाइ भएको नगरपालिकाले जनाएको छ।

बाढी तथा त्यसपछिको विपद्का कारण करिब तीन सय विद्यार्थी सम्पर्कविहीन रहेको जनाइएको छ। उनीहरूको अवस्था र हालको बसोबासबारे खोजी तथा आवश्यक समन्वय गर्नुपर्ने अवस्था रहेको नगरपालिकाले जनाएको छ।

विद्यालय सञ्चालन गर्दा विद्यार्थीको सुरक्षा, विद्यालयको भौतिक अवस्था तथा आवतजावतको अवस्थालाई विशेष ध्यान दिन नगरपालिकाले आग्रह गरेको छ। हाल अस्थायी आवास केन्द्रका रूपमा प्रयोग भइरहेका विद्यालयलाई समेत केही दिनभित्र अन्यत्र व्यवस्थापन गरी पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

विदुर नगरपालिकाभित्र रहेका आवास केन्द्रमा अन्य जिल्ला तथा पालिकाबाट आएका बाढी प्रभावित नागरिकलाई सम्बन्धित जिल्ला तथा पालिकासँग समन्वय गरी अन्यत्र व्यवस्थापन गर्न नगरपालिकाले आग्रह गरेको छ।

पूर्ण रूपमा क्षति भएका विद्यालयका विद्यार्थीका लागि भने वैकल्पिक व्यवस्थामार्फत पठनपाठन सञ्चालन गर्नुपर्ने अवस्था रहेको छ। साथै बाढी प्रभावित विद्यार्थी, सर्वसाधारण तथा पीडितलाई आवश्यक मनोसामाजिक परामर्श उपलब्ध गराउनुपर्नेमा समेत नगरपालिकाले जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस्