जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने



पर्सा,भदौ २४ । जनमत पार्टीको दोस्रो महाधिवेशन आगामी असोज १० गते वीरगञ्जमा हुने भएको छ। पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जस्थित टाउन हलमा आयोजना गर्ने तय भएको पर्सा अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिनुभयो।

महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यसहित सम्पूर्ण पदका लागि असोज १ गते उम्मेदवारी मनोनयनपत्र दर्ता गरिनेछ। असोज २ गते उम्मेदवारको नामावली प्रकाशन गरिने, असोज ३ गते दाबी विरोधका लागि समय दिइने र असोज ४ गते उम्मेदवारले नाम फिर्ता लिन सक्ने कार्यतालिका छ।

असोज ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। महाधिवेशनअघि असोज ९ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने कार्यक्रम तय गरिएको अध्यक्ष सर्राफले बताउनुभयो।

यसैगरी जिल्लाबाट मनोनीत सम्पूर्ण महाधिवेशन प्रतिनिधिको विवरण भदौ २८ गतेसम्म केन्द्रमा पठाइसक्नुपर्नेछ। भदौ २९ गते मतदाता नामावली प्रकाशन गरिने, भदौ ३० गते दाबी विरोधका लागि समय दिइने र भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।

पार्टीका अनुसार असोज १० गते शनिबार महाधिवेशनसँगै मतदान सम्पन्न हुनेछ। असोज ११ गते मतगणना गरी निर्वाचन परिणाम घोषणा गर्ने कार्यतालिका तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्