विदुरमा खानेपानी समस्या समाधान गर्न चार हजार मिटर पाइप उपलब्ध



नुवाकोट,भदौ २४ । विदुर नगरपालिका वडा नं. २ र ४ का बासिन्दाले भोग्दै आएको खानेपानी समस्या समाधानका लागि नगरपालिकाले आवश्यक पाइप विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई उपलब्ध गराएको छ।

विदुर नगरपालिकाको सहजीकरणमा ६३ मिलिमिटरको एक हजार आठ सय मिटर र ५० मिलिमिटरको दुई हजार दुई सय मिटर गरी चार हजार मिटर पाइप उपलब्ध गराइएको हो।

नगरपालिकाले पाइप उपलब्ध गराएसँगै रिमालडाँडा, धोबीखोला हुँदै विदुर ट्याङ्कीसम्म पानी ल्याएर वितरण गर्ने काम आजदेखि नै सुरु गरिने भएको हो । यसबाट विदुर क्षेत्रमा देखिएको खानेपानीको समस्या समाधान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बताउनुभयो ।

पानी ल्याउने तथा वितरण प्रणाली विस्तारका लागि आवश्यक जनशक्तिको अभाव रहेकाले नगरपालिकाले स्वयम्सेवा गर्न इच्छुक व्यक्ति तथा संघसंस्थालाई सहयोगमा जोडिन आग्रह गरेको छ।नगरपालिकाले इच्छुक व्यक्ति तथा संघसंस्थालाई विदुर नगरपालिका वा विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थासँग सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्